कारोबार


महामारीको सामना गर्न जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले गर्‍यो २ करोड सहयोग

महामारीको सामना गर्न जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले गर्‍यो २ करोड सहयोग

नेपालखबर
जेठ ७, २०७८ शुक्रबार १०:५५,

जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजले काेराेना महामारीसँग जुध्न २ करोड सहयोग गरेको छ।

सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय सामुदायिक संस्थाको अग्रसरतामा कोभिड १९ प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने सामग्री खरिदका लागि उक्त सहयाेग गरिएकाे कम्पनीले जनाएकाे छ। 

कम्पनीका अनुसार अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायत अन्य स्वास्थ्य सामग्री खरिदको लागि पछिल्लो दुई हप्तामा दुई करोडको प्रत्यक्ष अनुदान प्रदान गरिएको हो।

कम्पनीले अक्सिजन प्लान्ट र आईसीयू विस्तारका लागि धुलिखेल अस्पताललाई एक करोड ३५ लाख सहयोग गरेको जनाएको छ।

त्यसैगरी नेपालको विभिन्न प्रदेशहरुमा सामुदायिक समूहको प्रयासको लागि सहयोगस्वरुप ७५ लाख प्रदान गरिएको कम्पनीले जनाएको छ।

यसअन्तर्गत नेपाल भेन्टिलेटर सर्भिसलाई हाई फ्लो क्यानुलास (ननइन्भ्यासिभ) भेन्टिलेटर खरिद गर्न, वीरगञ्ज महानगरपालिकामार्फत वीरगञ्ज, पर्सामा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न, ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरुमार्फत सञ्चालित आइसोलेसन सेन्टरका लागि उपकरण र सामग्री खरिद गर्न, विराटनगर, मोरङमा अक्सिजनसहितको आइसोलेसन सेन्टर सञ्चालनको लागि रोटरी क्लब अफ विराटनगर युनिकलाई सहयोग गरिएको कम्पनीले जनाएको छ।

त्यसैगरी, रोटरी क्लब अफ बिर्तामोडलाई झापामा अक्सिजन बैंक सञ्चालन गर्न सहयोग गरेको कम्पनीले रोटरी क्लब अफ धनगढीलाई धनगढी, कैलालीमा अक्सिजन बैंक सञ्चालन गर्न पनि सहयोग गरेको जनाएको छ।

त्यस्तै, लायन्स क्लब अफ बुटवलमार्फत बुटवल, रुपन्देहीमा अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग गरिएको, रोटरी क्लब अफ भैरहवामार्फत भैरहवा, रुपन्देहीमा सञ्चालित आइसोलेसन सेन्टरका लागि उपकरण खरिदमा सहयोग, भैरहवा चेम्बर अफ कमर्समार्फत रुपन्देहीमा सञ्चालित अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग तथा देशभरि आफ्नो ग्राहक तथा स्थानीय समुदायको लागि पाँच लाख फेस मास्क वितरण गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

कम्पनीका अध्यक्ष विजय कुमार शाहले समुदायलाई आवश्यक परेको बेला सहयोग गर्ने कुरा मानव धर्म भएको बताए।

कम्पनीले भनेको छ, ‘यीबाहेक पनि उहाँले आफ्नो व्यक्तिगत क्षमतामा खाँचो परेका र वञ्चित समुदायलाई वर्षेनी लाखौँ रुपैयाँ सहयोग गर्दै आउनुभएको छ, जसको उहाँ प्रचार गर्न रुचाउनुहुन्न।’

शाह नेपालको सबैभन्दा बढी कर तिर्ने व्यक्तिगत करदाता समेत हुन्।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले अहिलेको यो कठिन समयमा एक सच्चा कर्पोरेट नागरिकको हैसियतले व्यापारिक घरानाहरुले कुनै पनि अपेक्षा नराखी स्वच्छ रुपले सहयोगी भाव विकास गर्नुपर्नेमा जोड दिए।

कर्पोरेट सेक्टर पनि यही समुदायको एक अभिन्न हिस्सा भएको र जसको अस्तित्व समुदायको हितसँग निर्भर हुने भन्दै उनले यो समय सरकारले सीमित स्रोत र साधनबाट गरेको प्रयासप्रति सहयोग र समर्थन गर्ने पनि भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad