बजार परिसूचक नेप्से १३.०९ अंकले घटे पनि सेयरबजारमा आज पनि अहिलेसम्मकै धेरै रुपैयाँको कारोबार भएको छ।
सेन्सिटिभ सूचक १.०८ अंकले घटेको दिन सेयरबजारमा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार रुपैयाँ बढीको कारोबार भएको हो।
यो अहिलेसम्मकै ठूलो परिमाणको सेयर कारोबार हो। यसअघि हिजो २ सय १५ कम्पनीको कुल ११ अर्ब ३५ करोड ९३ लाखको कारोबार भएको थियो।
जुन कीर्तिमानी कारोबार थियो। त्यसअघि ०७७ माघ २६ गते सेयरबजारमा १० अर्ब ६१ करोड ९१ लाख रुपैयाँको कारोबार भएको थियो। त्यसअघि सोही अघिल्लो दिन १० अर्ब ४४ करोडको कारोबार भएको थियो।
२१४ कम्पनी सामेल
आजको कारोबारमा २ सय १४ वटा कम्पनी सामेल भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज १ लाख ३२ हजार ३ सय ६९ पटक खरिदबिक्री भएको हो। यसमा २ करोड ५१ लाख २१ हजार कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ।
५ समूहको उकालो यात्रा
बुधबार कुल १३ मध्ये ५ समूहको सूचक मात्रै उकालो लागेको छ। नेप्सेका अनुसार वाणिज्य बैंक, व्यापार, होटल र पर्यटन, फाइनान्स र म्युचुअल फन्डको सूचक हरियो भएको हो।
त्यस्तै लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, अन्य, उत्पादन, निर्जीवन बीमा, जलविद्युत् र विकास बैंकको सूचक राताम्य छन्।
सर्वाधिक कारोबारमा पुनर्बीमा अगाडि
यस्तै आज पुनर्बीमा कम्पनीको सर्वाधिक ५५ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यसबाहेक नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ४५ करोडको, एनएचपीसीको ३० करोडको, राधी जलविद्युतको २९ करोडको, शिखर इन्स्योरेन्सको २२ करोडको कारोबार भएको छ।
कसले कमाए?
आज समता घरेलु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन्। नेप्सेका अनुसार कम्पनीको सेयर ९.९९ प्रतिशतले बढ्दा सेयरधनीले १ सय ५५ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका हुन्।
त्यस्तै रुरु जलविद्युत् परियोजनाका लगानीकर्ताले ९.९६ प्रतिशत अर्थात् प्रतिकित्ता १०६ रुपैयाँ आम्दानी गरेका छन्। यसबाहेक गुर्खाज फाइनान्सका लगानीकर्ताले ९.९३ प्रतिशत, नेपाल फाइनान्सका लगानीकर्ताले ९.८२ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले ९.६२ प्रतिशत आम्दानी गरेको नेप्सेले जनाएको छ।
जसले गुमाए
यता ङादी ग्रुप पावर लिमिटेडका लगानीकर्ताले आज धेरै गुमाएका छन्। कम्पनीको सेयर मूल्य ६.८८ प्रतिशतले अर्थात् २४ रुपैयाँ प्रतिकित्ता घाटा व्यहोरेका हुन्।
त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ५.९२ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका लगानीकर्ताले ५.७० प्रतिशत, युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ५.६० प्रतिशत र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ५.३५ प्रतिशत गुमाएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया