नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन्।
पूर्वअर्थमन्त्री महतले सरकारले विश्वासको मत प्राप्त नगरिसकेकाले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका हुन्।
उनले वार्षिक बजेट ल्याउनको लागि सरकारले विश्वासको मत प्राप्त गरेको हुनुपर्ने बताए।
उनले भने, ‘फुल फेज वार्षिक बजेटको लागि विश्वासको मत प्राप्त गरेको सरकारले ल्याउनुपर्छ। वर्तमान सरकार नै अनिश्चित छ। ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नु वर्तमान सरकारलाई बाध्यता छ।’
चाँडै नै यसले विश्वासको मत प्राप्त गरेर फुल फेज बजेटको घोषणा गर्नु उचित हुने उनको सुझाव छ।
उनले भने, ‘विश्वासको मत नलिईकन आगामी आर्थिक वर्षको लागि पूर्ण बजेट ल्याउनु मेरो विचारमा उचित हुँदैन।’
सरकारले विश्वासको मत प्राप्त नगरी बजेट ल्याउनुपर्ने अवस्थामा काम चलाउ बजेट ल्याउनुपर्ने डा. महतले बताए।
बजेट विधिपूर्वक ल्याउनुपर्ने र बजेटअघिको प्रि–बजेट छलफल पनि जरुरी रहेको उनले उल्लेख गरे।
‘विधिपूर्वक प्रि–बजेटको बारेमा छलफल हुनु जरुरी छ। संसदमा राष्ट्रपतिको नीति, कार्यक्रम भाषण हुनुपर्छ। त्यसको आधारमा संसदमा पेश गरेर छलफल गरेपछि निर्णय गर्ने हो’, उनले भने, ‘त्यस्तो अवस्था अहिले छैन। त्यसकारण विश्वासको मत प्राप्त गरेर नै घोषणा गरेको भए उचित हुन्थ्यो।’
विश्वासको मत नलिईकन बजेट पेश गर्नुपर्ने अवस्था आएमा अन्तरिक बजेट÷काम चालउ बजेट पेश गर्नुपर्ने उनको भनाइ छ।
यो सरकारले राजस्वसम्बन्धी, करका दर तलमाथि गर्ने कार्य पनि गर्न नपाउने भन्दै उनले कार्यक्रमहरु पनि तलमाथि गर्न नमिल्ने बताए।
उनले भने, ‘चालू कार्यक्रमहरुलाई निरन्तरता दिने गर्नुपर्छ।’
विगतमा पनि सरकारले अन्तरिम बजेट ल्याएको स्मरण गर्दै उनले अन्य राजनीतिक पार्टीहरुसँग पनि छलफल गरेर अन्तरिम/कामचलाउ बजेट ल्याउनुपर्ने उनले बताए।
(न्युज एजेन्सी नेपालसँगकाे कुराकानीमा आधारित)

प्रतिक्रिया