कारोबार


सीजी फाउन्डेसनले वीरमा १८ शय्याको आईसीयू वार्ड र नबिलले अक्सिजन प्लान्ट स्थापना गर्ने

सीजी फाउन्डेसनले वीरमा १८ शय्याको आईसीयू वार्ड र नबिलले अक्सिजन प्लान्ट स्थापना गर्ने

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ७:२०,

देशकै जेठो वीर अस्पतालमा चौधरी फाउन्डेसनले १८ शय्याको आईसीयू वार्ड स्थापनाका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)सँग आज समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र प्रतिष्ठानका उपकुलपति प्रा.डा. देवनारायण शाहले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

त्यसैगरी वीर अस्पतालमै अक्सिजन प्लान्ट स्थापनाका लागि नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह र नाम्स उपकुलपति शाहले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

सरकारले वीर अस्पताललाई ‘केन्द्रीय कोभिड अस्पताल’ घोषणा गरेको छ। वीर अस्पतालको नयाँ भवनलाई अक्सिजन प्लान्टसहितको आईसीयू वार्ड बनाउन यस्तो पहल गरिएको हो।

अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर÷प्रतिघण्टा रहनेछ। यसअनुसार एक दिनमा ४० लिटर क्षमताका १५० सिलिन्डर अक्सिजन भर्न सकिनेछ।

चौधरी फाउन्डेसनका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले कोरोना महामारीले आक्रान्त मुलुकलाई जिम्मेवार कर्पोरेट नागरिकको रूपमा सहयोग गर्न पाउँदा आफूहरूलाई सन्तोष लागेको बताए।

‘कोरोनालाई परास्त गर्न हाम्रो संयुक्त प्रयास आवश्यक छ’, उनले भने, ‘हरेक नागरिक, सामाजिक संघसंस्था, कर्पोरेट हाउस अहिले एकजुट भएर सार्वजनिक अस्पतालहरूसँग सहकार्य गर्दै अत्यावश्यक पूर्वाधार निर्माणमा सरिक हुनुपर्ने बेला आएको छ ।’

नाम्स उपकुलपति शाहले चौधरी फाउन्डेसन र नबिल बैंकलाई धन्यवाद दिए।

‘यस्तो कठिन घडीमा कोरोना उपचारका लागि अत्यन्तै संवेदनशील मानिने आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने चौधरी फाउन्डेसन र नबिल बैंकको निर्णयलाई हामी हृदयदेखि नै स्वागत गर्दछौं । यो वार्डले सयौं कोरोना बिरामीलाई जीवनदान दिनेछ भन्ने हाम्रो विश्वास छ’, उनले भने।

अक्सिजन प्लान्ट स्थापना गर्न लागेको नबिल बैंकका सीईओ शाहले अब केन्द्रीय कोभिड अस्पतालमा अक्सिजन अभाव नहुने वातावरण तयार हुने विश्वास व्यक्त गरे।।

उनले भने, ‘जताततै अक्सिजन हाहाकारका खबरले हामीलाई मर्माहत बनाइरहन्छ। त्यसैले पहिले अक्सिजनकै व्यवस्थापनमा लागेका हौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad