चालू आर्थिक वर्षको नौ महिनामा सरकारी चालू खाता घाटामा गएको छ।
नेपाल राष्ट्र बैंकको चैतसम्मकाे तथ्यांकअनुसार चालू खाता २ खर्ब ७ अर्ब ४१ करोड रुपैयाँले घाटामा देखिएको हो।
अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १ खर्ब २६ अर्ब ९ करोडले घाटामा थियो।
त्यस्तै, अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ७७ करोडले घाटामा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १०.७ प्रतिशतले वृद्धि भई १२ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २५.० प्रतिशतले कमी आई १२ अर्ब ३५ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ६२ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.४२ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोडले बचतमा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको छ।
Shares
प्रतिक्रिया