प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा विकास निर्माणका कार्यमा धेरे प्रगति गरेको दाबी गरेका छन्।
आज भइरहेको संसदको विशेष अधिवेशनमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकारले गरेका विकास निर्माणका कामको फेहरिस्त सुनाएका हुन्।
प्रधानमन्त्री ओलीले देशलाई सुरुङ मार्ग, विमानस्थल, सडक तथा पुल निर्माणमा अगाडि बढाएको बताए।
उनले दिनमा ६ किलोमिटर बाटो बनिरहेको दाबी गरे। पहिले वर्षमा १० किलोमिटर बाटो बन्ने गरेकोमा अहिले तीव्रता आएको उनको भनाइ छ।
ओलीले डिजिटल नेपालको अभियानअन्तर्गत विभिन्न कार्यक्रम अघि सारेको बताए। यसअन्तर्गत आफ्नो मोबाइलबाटै घरमै बसेर नागरिकले माटोको बारेमा जानकारी पाउन सक्ने बताए।
त्यसबाहेक सबै सरकारी सेवा अनलाइनबाटै काम गर्न सकिने गरी नागरिक एप सार्वजनिक गरेको बताए।
कुनै घर किन्नुपर्यो वा नक्सा पास गर्नुपर्यो भने घरमै बसेर गर्न सकिने मेरो कित्ता कार्यक्रम सुचारु गरेको संसदमा जानकारी गराए।
उनले राजा वीरेन्द्रको पालामा सुरु भएको मेलम्ची आयोजना कृष्ण प्रसाद भट्टराईको पालामा चर्चामा आए पनि भर्खर सम्पन्न भएको बताए।
‘अहिलेको सरकारले विशेष तीव्रता दिएपछि १७ करोड लिटर पानी ल्याइयो,’ ओलीले भने, ‘अबको केही वर्षमा यांग्री र लार्केबाट ३४ करोड लिटर पानि ल्याइनेछ।’
२०७२ सालको भूकम्पले भत्काएका संरचनामा उल्लेख्य प्रगति भएको बताए।
उनले अधिकांश निजी आवाससहित सिंहदरबार, धरहरा, वसन्तपुर दरबार क्षेत्र, दरबार हाइस्कुल, रानी पोखरीलगायतका पुनर्निर्माणको काम सकिएको सुनाए।
केही दक्ष जनशक्तिको अभावमा कुनै आयोजनामा समस्या देखिएको उनको भनाइ थियो। उनले बगिरहेको सुनकोशी ५ वर्षभित्र सक्ने गरी उक्त्त आयोजनाको शिलान्यास भएको बताए।
त्यस्तै १२ वटा नयाँ स्मार्ट सिटी बनाउने योजना अघि बढाएको संसदलाई जानकारी दिए। शिक्षा र स्वास्थ्यजस्ता सामाजिक पूर्वाधार विकासका क्षेत्रमा पनि राम्रो प्रगति गरेको उनको दाबी छ।

प्रतिक्रिया