पछिल्लो तीन दिनमा हवाइमार्ग हुँदै विदेशीने र विदेशबाट आउने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ।
कोभिड १९ संक्रमणको दोश्रो लहर भित्रिएसँगै रोकथाम र नियन्त्रणका लागि सरकारले आज २३ गते राति १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान र अवतरणमा रोक लगाएपछि विदेश जाने र स्वदेश फर्कने यात्रुहरुको चाप बढेको हो।
पछिल्ला दुई दिनमा यात्रुहरुको आवागमनमा ४० प्रतिशतले वृद्धि भएको अध्यागमन विभागले जनाएको छ। नेपाललाई ट्रान्जिट प्वाईट बनाएर तेश्रो मुलुक उडान गर्न नपाउने वैशाख १३ गतेको मन्त्रिपरिषद् निर्णय पछि यात्रुहरुको आवागमनमा कमि आएपनि १९ गतेको निर्णयसँगै आवागमनको दर वृद्धि भएको हो।
सरकारले अन्तर्राष्टिय उडान र अवतरणमा रोक लगाएपनि नेपालस्थिति विदेशी दूतावासहरुले पनि नेपालमा घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लैजाने गरेको, कोभिड भ्याक्सिन लगाएर ट्रेकिङ गर्न आएका पर्यटकहरुले पनि कम्तिमा १० होटल क्वारेन्टिन बस्नुपर्ने भएपछि आफ्नै देश फर्कने गरेको र घुम्न आएका पर्यटकले पनि घुम्न नपाएपछि फर्कने गरेकाले यात्रुहरुको चाप बढेको बताइएको छ।
उडान रोकिएपछि विदेशमा रहेका नेपालीहरु स्वदेश फर्कने अनुपात पनि ह्वात्तै बढेको छ। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय उडान रोक्ने नेपाल सरकारको निर्णयसँगै विदेशमा रहेका नेपाली स्वदेश फर्किने र श्रमका लागि विदेश जाने नेपालीहरुले पनि निर्धारित उडान अघि सारेको, कामको सिलसिलामा र घुम्न आएका विदेशी नागरिकहरु आफ्नै देश फर्कने क्रम बढेकाले आवागमन ३० देखि ४० प्रतिशतसम्म वृद्धि भएको बताए।
उनले भने, ‘हामीले हरेक दिन विमानस्थलबाट कति व्यक्तिहरु विदेश प्रस्थान गरे र कति स्वदेश आगमन भयो भनेर तथ्यांक राख्ने गर्छौं। त्यो हिसाबले हरेक दिनको आगमन र प्रस्थानको अभिलेख हामीसँग छ। तर विद्यार्थी, कामदार र अरु व्यवसायीक मान्छेहरु कति भन्ने खालको डाटा हामीले राख्ने गरेका छैनौं। वैशाख १३ गतेको मन्त्रिपरिषद् निर्णयपछि, नेपाललाई ट्रान्जिट प्वाइट बनाएर अर्को देश जाने प्रयोजनका लागि नेपालमा हवाइयात्रा गर्न नपाईने भन्ने नेपाल सरकारको निर्णयपछि त्यस्तो व्यक्तिहरु नेपालमा यात्रा गर्न कम गर्नुभयो। त्यसपछि समग्रमा यात्रुहरुको आवागमन घटेको देखिन्छ। केही दिनसम्म यात्रुको आवागमन घटेको थियो। पछिल्लोपटक १९ गतेको मन्त्रिपरिषद् निर्णयबाट २३ गते राति, आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय भइसकेपछि, यो बीचमा अत्यावश्यक कामले आफ्नो देश फर्कनुपर्ने विदेशी नागरिकहरु र विदेशमा रहेका नेपाल फर्कन चाहने नेपाली नागरिकहरु केही समय बन्द हुन्छ भनेपछि आफ्नो तालिका परिवर्तन गरेर आउने जाने क्रम बढेको कारणले पछिल्लो एक दुई दिन चाहीँ यात्रुहरुको आवागमन बढेको देखिन्छ। यात्रुहरुको चाप बढेपछि विभिन्न एयरलाइन्सहरुले केही अतिरिक्त उडान गरेको सुन्नमा आएको छ। यात्रुहरुको चाप बढेपछि पनि अतिरिक्त उडान सम्भव भएको हो।’
उनले थपे, ‘मैले पाएको जानकारी अनुसार आज राति १२ बजे भन्दा अगावै विदेशबाट प्रस्थान गरिसकेका र ट्रान्जिट भएर आउनुपर्ने जहाजहरु भोलि बिहानसम्म २ वटासम्म आउन दिने गरि कुरा भएको मैले बुझेको छु। त्यसले गर्दा भोलि बिहानसम्म यहाँहरुले प्लेन आएको देख्न सक्नुहुन्छ। १३ गतेको मन्त्रिपरिषद्को निर्णयपछि दैनिक २०/२५ प्रतिशतले यात्रुहरुको आवागमनमा कमि आएको थियो। पछिल्लो पटक त्यसलाई कभर गर्ने गरि ३०/४० प्रतिशतले बढेको छ।’
हवाइमार्गबाट वैशाख २२ गते मात्रै २ हजार २ सय ९० जना प्रस्थान भएका छन् भने ३ हजार ८ सय ८४ जना नेपाल भित्रिएका छन्। त्यसैगरी, २१ गते १ हजार ४ सय ४० नेपाल छोडेका छन् भने ३ हजार १ सय ८३ जना नेपाल आएका छन्। २० गते १ हजार २ सय ५ जना, १९ गते १ हजार ३ सय ६९ जना, १८ गते १ हजार ६ सय ९० जना र १७ गते २ हजार ५ सय ९ जना हवाईमार्ग हुदै विदेश गएका छन्। अध्यागमनका अनुसार, २० गते २ हजार ३ सय २३ जना, १९ गते २ हजार ५ सय १० जना,१८ गते २ हजार ३१ र १७ गते २ हजार ६ सय २७ जना नेपाल भित्रिएका छन्।
यात्रुहरुको चाप बढेपछि मंगलबार मात्रै एयर अरेबियाले ३ वटा उडान थप गरेको थियो। त्यसैगरी अन्य एयरलाइन्सहरुले पनि उडान थप गरेका छन्।

प्रतिक्रिया