सरकारले वैदेशिक रोजगारीमा जानेका लागि बिहीबारदेखि अनलाइनबाट मात्रै श्रम स्वीकृति जारी गर्ने भएको छ।
बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा बसेको बैठकले वैशाख मसान्तसम्म देशभरका श्रम कार्यालयबाट अन्तिम श्रम स्वीकृति जारी नगर्ने निर्णय गरेको हो।
वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले तत्काल विदेशका उडान बन्द भएको र जाने अवस्था नरहेकाले अनलाइनबाट मात्रै श्रम स्वीकृति जारी गर्ने निर्णय गरेको जानकारी दिए।
अहिले पूर्वस्वीकृति बन्द नगरिएपनि श्रमिक छनोटको प्रक्रिया हुन नसक्ने भएकाले पूर्वस्वीकृति नलिन म्यानपावरलाई आग्रह गरेको बताए। श्रम स्वीकृतिको म्याद तीन महिनासम्मको हुने भएकाले अहिले रोक्दा पछि चाप बढ्ने भएकाले अनलाइनबाट जारी गर्ने निर्णय भएको दवाडीले बताए।
विदेशमा रहेको नेपालीको अवस्थाबारे तथ्यांक संकलन गर्न सम्बन्धित देशका दूतावास र म्यानपावर कम्पनीलाई भनेको छ। यस्तै बुधबारको बैठकले इजरायल जाने श्रमिकले अध्ययन गर्ने भाषा परीक्षाको पाठ्यक्रम तयार गर्नका लागि उपसमिति गठन गरेको छ।
सरकारले वैशाख मसान्तसम्म आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गर्ने निर्णय गरिसकेको छ।
गत वर्ष भने अन्तर्राष्ट्रिय उडान बन्द भएपछि सरकारले श्रम स्वीकृति पनि बन्द गरेको थियो।

प्रतिक्रिया