ad ad

समाज


कोरोनाको जोखिम मोलेर बिहे, हनिमुन नमनाई अस्पताल भर्ना

कोरोनाको जोखिम मोलेर बिहे, हनिमुन नमनाई अस्पताल भर्ना

उजिर कार्की
बैशाख २२, २०७८ बुधबार १३:२९,

सुदूरपश्चिमका एक युवा र ललितपुर सातदोबाटोकी युवतीबीच यही वैशाख ११ गते लगनगाँठो कसियो। सातदोबाटोको एक प्यार्टी प्यालेसमा धुमधामको भोज आयोजना गरियो।

त्यसको तीन दिनपछि दुरन फर्काउन ललितपुर आएका उनीहरु घर फर्किन पाएनन्। स्वास्थ्यमा समस्या देखिएपछि नवदम्पतीले पाटन अस्पतालमा कोरोना परीक्षण गरे। कोरोना संक्रमण पुष्टि भएपछि अहिले उनीहरु सातदोबाटोमै आइसोलेसनमा बसेका छन्।

कपन पैँयाटारकी २२ वर्षीया युवतीको एक सातापहिले भक्तपुरका युवकसँग विवाह भयो। तर युवतीलाई विवाहको भोलिपल्टै सन्चो भएन। दुरन फर्काउन कपनस्थित माइती आएकी उनको कोरोना परीक्षण गरियो। रिपोर्ट पेजिटिभ आयो।

उनलाई भक्तपुर अस्पतालमा भर्ना गरियो। तर उनलाई कोरोनाले झन्झन् च्याप्दै लग्यो। उनलाई प्लाज्मा थेरापीसहितको उपचारले पनि ठिक भएन। अन्ततः सोमबार राति उनको ज्यान गयो।

पछिल्ला दिनमा कोरोना संक्रमण भएर अस्पताल भर्ना हुने नवविवाहितहरुको संख्या बढिरहेको छ।

अहिले ५० बढी जिल्लामा निषेधाज्ञा छ। निषेधाज्ञामा बढीमा १५ जना मात्रै उपस्थित भएर र स्वास्थ्य मापदण्ड पालना गरेर विवाह गर्न प्रशासनले आदेश दिइएको छ। तर, विवाहमा न स्वास्थ्य मापदण्ड पालना हुन्छ, न त सिमित उपस्थिति नै । वैशाख लागेदेखि नै सहरका पार्टी प्यालेस विवाह भोजले भरिभराउ छन्।

उता गाउँमा पनि हुने विवाहमा पनि भीडभाड रोकिएको छैन। भारतसँगको सिमानामा पनि यही समस्या रहेको प्रहरी बताउँछ।

सरकारले विदेशी नागरिकलाई पीसीआरको रिपोर्टबिना नेपाल प्रवेशमा रोक लगाउने भनेको छ।

तर, पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डे विवाहका लागि नेपालबाट भारत र भारतबाट नेपालतर्फ आउनेजाने क्रम जारी रहेको बताउँछन्। सरकारको निर्देशनअनुसार ७२ घण्टाभित्र गरेको पीसीआरको नेगेटिभ रिपोर्ट र नेपालमा होटल बुक गरेको हुनु पर्नेछ।

तर विवाहमा जन्ती आउनेहरु पीसीआर रिपोर्ट बोकेर आउँदैनन्। त्यही नभएको कारण दुलाहा र जन्ती फर्काउन नसकिएको एसपी पाण्डेले बताए।

‘वारि र पारिका समुदायको बीचमा बिहेवारी हुने भएकाले जन्ती रक्सौल नाकाबाट आउजाउ समेत गर्दैनन्। जसरी पनि रक्सौलमै आएर नेपाल प्रवेश गराउन पनि गाह्रो छ,’ पाण्डे भन्छन्, ‘अरु बेलाभन्दा केही सचेत भएको पाइएपनि विवाहको बेला भने स्वास्थ्य मापदण्ड पालना गराउन गाह्रो छ।’

प्रहरीले यसका लागि प्रयास नै नगरेको भने होइन। १८ गते पर्साको नगुवामा भएको विवाहमा ठूलो भीड जम्मा भएको भन्दै प्रहरीले केहीलाई घर फर्काएको थियो। पर्साकै रानीघाटको ओम पार्टी प्यालेसमा पनि विवाहको क्रममा धेरै भीड जम्मा भएको भन्दै प्रहरीले केहीलाई फर्काएको थियो। तर प्रहरीको कडाइ र प्रशासनको नियमले विवाहमा हुने भीडभाड रोक्न सकेको छैन।

सप्तरीका एक युवाले यही वैशाख २४ गते विवाह तय गरेका छन्। दुलही लिन उनी मोरङ पुग्नु छ। जन्ती जानु दुई दिनपहिलेबाट त्यहाँ निषेधाज्ञा घोषणा भएको छ।

‘निषेधाज्ञा थिएन र धुमधामसँग विवाह गर्ने भनेर तय गरियो, टाढा टाढा रहेका आफन्तलाई पनि बोलाइएको छ। तर प्रशासनले कडाइ गरेपछि काठमाडौंलगायत बाहिर हुनेहरु नआउने भन्नु भएको छ,’ उनी भन्छन्, ‘घरका र छिमेकी मात्रै जम्मा हुँदा पनि प्रशासनले भनेभन्दा धेरै भइन्छ।’

उनले वैशाखको सुरुमै कुरा छिनेकाले बिहे रोक्न सम्भव नभएको बताए।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि वैशाखको बिहे रोक्न नसकिएको तर स्वास्थ्य मापदण्ड र प्रशासनको आदेशको कार्यन्वयन भए नभएको अनुमगन गरिरहेको बताए।

‘वैशाखका लगनमा बिहेको मिति तय भइसकेको हुन्छ। त्यही भएर रोक्नुस् भन्न सकेनौँ। १५ जनाको मात्रै उपस्थितिमा गर्नुस् भनेका छौँ, जेठदेखि यस विषयमा पनि थप निर्णय गर्छौँ,’ प्रजिअ पराजुलीले बताए।

बिहे, ब्रतबन्ध लगायतका कार्य अत्यावश्यक सेवा अन्तरगत नपर्ने भएकाले १५ जनासम्म उपस्थित भएर गर्न पाउने नियम प्रशासनले बनाउनु नै गलत भएको जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डे बताउँछन्।

अहिलेको भाइरस पहिलेको जस्तो दुईतीन जनामा मात्रै सर्ने खालको नभएको उनको भनाइ छ।

‘अहिलेको भाइरस एउटा क्लस्टरमा पुगेपछि सबैलाई सर्छ, बिहेमा गएका जन्ती नै संक्रमित, मलामी संक्रमित भएको पाइएको छ,’ पाण्डे भन्छन्, ‘यो महामारी सधैँ रहँदैन। दुईतीन महिनापछि सामान्य अवस्था आउन सक्छ। त्यसपछि बिहे गर्दा भयो नि।’

बिहे गर्नै परे परिवारभित्रै सिमित गर्न र तीमध्ये पनि बिहेमा सहभागी हुनेहरुको पीसीआर गर्ने नियम ल्याउनु पर्ने उनको सुझाव छ।

पाण्डे भन्छन्, ‘लाखौँ खर्च गरेर होटलमा पार्टी गर्नेले केही हजार खर्च गरेर पीसीआर गर्न सक्छन्।’

बिहेमा सहभागी भएकाहरु संक्रमित भएका घटना दिनदिनै आइरहेका छन्। हामीले लापरबाही गर्दा त्यसको पीडा हामीले नै भोग्नु पर्ने भएकाले पहिले नै सचेत हुन पाण्डेले सुझाव दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .