ad ad

कारोबार


कोभिडको दोस्रो लहरबारे सार्क सदस्यराष्ट्रका अर्थमन्त्रीहरुले गरे छलफल

कोभिडको दोस्रो लहरबारे सार्क सदस्यराष्ट्रका अर्थमन्त्रीहरुले गरे छलफल

नेपालखबर
बैशाख २२, २०७८ बुधबार १०:४४,

कोभिड महामारीको विषयमा छलफल गर्न दक्षिण एसियाली सहयोग संगठन (सार्क)का अर्थमन्त्रीहरुको अनौपचारिक बैठक बसेको छ।

एसियाली विकास बैंकको ५४औं वार्षिक बैठकको अवसरमा भर्चुअल माध्यमबाट सार्क अर्थमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरुको बैठक बसेको हो।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ महामारीको सामना गर्न तथा आर्थिक प्रवर्द्धनलगायतमा विकासोन्मुख सदस्य देशहरुलाई वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध गराएकोमा एसियाली विकास बैंकलाई धन्यवाद व्यक्त गरे।

सो क्रममा अर्थमन्त्री पौडेलले कोभिड–१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताए।

आशातित रुपमा आर्थिक पुनरुत्थान प्रक्रियाको पाटोमा अगाडि बढिरहेका बेला कोभिड–१९ को दोस्रो लहरबाट निकै ठूलो धक्का पुर्याएको उल्लेख गर्दै उनले पर्यटन, अन्य सेवाहरु र उत्पादन क्षेत्रमा गम्भीर असर पुगेको बताए।

‘कोभिड–१९ को विस्तारित प्रभाव व्यक्तिको आम्दानी तथा रोजगारीमा व्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिविम्बित भएको देखिन्छ’, उनले भने, ‘मानव विकास र गरिबी निवारणका हाम्रा प्रयासहरुमा चुनौती थपिदिएको छ।’

उनले गरिब एवं जोखिम समूह बढी प्रभावित भएको देखिँदा यसले असमानताको खाडललाई अझ फराकिलो बनाउँदै लाने जोखिम हामी समक्ष अझै विद्यमान रहेको बताए।

कोभिड–१९को महामारीले स्वास्थ, शिक्षा र मानव जीवनका समृद्धिका समग्रपक्षलाई निरन्तर प्रताडित बनाइरहेको उल्लेख गर्दै उनले जीवन र जनजीविकालाई बचाउन विश्वव्यापी एेक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएको बताए।

उनले खोपको आपूर्तिमा सबै देशले सहजरुपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएको पनि बताए।

सार्क क्षेत्रले बजार र अर्थतन्त्रबीचको गहिरो अन्तराबद्धताको माध्यमबाट क्षेत्रीय समृद्धि हासिल गर्न सक्ने थुप्रै सम्भावना बोकेको भन्दै अर्थमन्त्री पौडेलले छोटो समयमा नै आर्थिक पुनरुत्थान गर्नसक्नेमा आशावादी रहेको धारणा व्यक्त गरे।

बैठकलाई अफगानिस्तानका अर्थमन्त्री मोहम्मद खालिद पाइन्दा, बंगलादेशका अर्थ मन्त्रालयका अतिरिक्त सचिव मोहम्द खैरुजामन मोजुम्दर, भुटानका अर्थशास्त्र मामिलाका महानिर्देशक लेकजाङ दोर्जी, भारतका आर्थिक मामिला विभागका सचिव अजय सेठ, मालदिभ्सका अर्थमन्त्री इब्राहिम अमिरले सम्बोधन गरेका थिए।

यस्तै पाकिस्तानका वित्त विभागका अतिरिक्त अर्थसचिव अविस मन्जुर सुम्राज्य, श्रीलंकाका मुद्रा तथा पुँजीबजार र सार्वजनिक संस्थान सुधारका राज्यमन्त्री अजित निभर्त काब्राल, एसियाली विकास बैंकका उपाध्यक्ष सिसिन छनले समेत सम्बोधन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .