काठमाडौं उपत्यकासहित करिब दर्जन जिल्लामा निषेधाज्ञा सुरु भएपछिको पहिलो दिन सेयरबजारमा त्यसको प्रभाव देखिएको छ।
आज पनि खुल्ला रहेको सेयरबजारमा ४ अर्ब ३५ करोड रुपैयाँको सेयर किनबेच भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन बजार परिसूचक नेप्से २५.८२ अंकले उकालो लागेको छ। योसँगै सूचक २६ सय ११ दशमलव १० अंकमा पुगेको छ।
सेन्सिटिभ सूचक पनि आज ३.९१ अंकले हरियो छ।
आजको कारोबारमा २१७ कम्पनी सामेल भएका छन्। यसअनुसार आज ९८ लाख १८ हजार कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ५० हजार ६ सय ७३ पटक सेयर खरिदबिक्री भएको थियो।
आज बजार पुँजीकरण ३६ खर्ब र तरलता १२ खर्ब रुपैयाँको छ। आज बजार खुल्नेबित्तिकै नेप्से ह्वात्तै घटे पनि त्यसपछि क्रमशः उकालो लागेको थियो।
कुल १३ समूहमध्ये आज लगानी, होटल र पर्यटनको सूचक मात्रै ओरालो लागेको नेप्सेले जनाएको छ।
खासगरी निषेधाज्ञाको प्रभाव यी क्षेत्रमा देखिँदा दुई समूहको सूचक ओरालो लागेको हो।
आज तीनवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट ब्रेक लागेको छ। लगानीकर्ताले आज २.८२ प्रतिशतसम्म मात्रै गुमाएका छन्।
सर्वाधिक कारोबार भने एनसीसी बैंकको भएको छ। बैंकको ३० करोडको, शिवम् सिमेन्टको १८ करोडको कारोबार भएको हो।

प्रतिक्रिया