कारोबार


एनआईसी एशिया बैंकको ‘क्विक पे’ सेवा सार्वजनिक

एनआईसी एशिया बैंकको ‘क्विक पे’ सेवा सार्वजनिक

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार १४:१९,

एनआईसी एशिया बैंकले साना तथा मझौला व्यवसायीहरूका ‘एपीआई’ इन्टिग्रेसन नगरी लिंकबाटै डिजिटल भुक्तानी लिन सकिने नेपालको बैंकिङ क्षेत्रमा नै पहिलो पटक अत्यन्तै प्रभावकारी ‘क्विक पे’ सेवाको सुरुवात गरेको छ।

हस्पिटालिटी, ट्राभल-टुर्स, टेलिमेडिसिन, अनलाइन शिक्षा, साना तथा मझौला व्यवसाय जस्ता क्षेत्रमा आफ्नो व्यवसाय अगाडि बढाइरहेका व्यवसायीहरूलाई लक्षित गर्दै बैंकले सुरुवात गरेको यस ‘क्विक पे’ सेवामार्फत बिक्रेताले खरिदकर्तालाई भुक्तानी लिंक पठाई सरल एवं सुरक्षित रुपमा भुक्तानी प्राप्त गर्न सक्नेछन्।

बैंकबाट ‘क्विक पे’ सेवा लिन चाहने व्यवसायीहरूले बैंकसमक्ष पुगी सम्झौता गरेपश्चात् बैंकले उनीहरूलाई भुक्तानी लिने लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन मिल्ने प्लेटफर्म उपलब्ध गराउनेछ भने उक्त प्लेटफर्मको प्रयोग गरेर मर्चेन्टहरूले इमेल, एसएमएस तथा सामाजिक सञ्जालका मेसेन्जर एपमार्फत भुक्तानी लिंक आफ्ना उपभोक्ताहरूलाई पठाउन सकिनेछ।

उपभोक्ताहरूले आफ्नो ल्यापटप वा कम्प्युटर वा स्मार्टफोनमा प्राप्त भएको लिंक क्लिक गरी कार्ड, मोबाइल बैंकिङ एवं इन्टरनेट बैंकिङमार्फत जुनसुकै स्थानबाट र जुनसुकै समयमा तत्काल सहज तरिकाले रकम भुक्तानी गर्न सक्नेछन्।

अनलाइन भुक्तानी सेवामा आबद्ध नभएका इ–कमर्श कम्पनीहरूले ‘क्विक पे’ को माध्यमबाट भुक्तानी लिनुका साथै अफलाइन व्यवसाय गरिरहेका व्यवसायीहरूले समेत यस माध्यमबाट भुक्तानी लिई मुलुकलाई डिजिटल कारोबारतर्फ अग्रसर गराउन सक्नेछन्।

यस ‘क्विक पे’सेवाले अनलाइन र अफलाइन भुक्तानीको बीच गतिशील पुलको रुपमा काम गर्दै डिजिटल कारोबारलाई एउटा नयाँ उचाइमा पु-याउन अर्थपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ। हाल यस बैंकमार्फत कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे साइबरसोर्स, एनआइसी एशिया मोबैंकिङ तथा अन्य अनलाईन भुक्तानीका माध्यमबाट डिजिटल कारोबारको सेवा उपलब्ध भएकोमा यस ‘क्विक पे’ सेवाको सुरुवातले देशमा डिजिटल भुक्तानीको प्रवद्र्धनमा सघाउन ठोस टेवा पुग्नेछ।

हाल देशव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण कम गर्नका लागि नगद कारोबारको सट्टा डिजिटल कारोबार अवाञ्छनीय भएकोले समेत बैंकले ल्याएको ‘क्विक पे’ सेवा अत्यन्तै सुरक्षित तथा प्रभावकारी रहने बैंकले अपेक्षा लिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad