सरकारले काठमाडाैं उपत्यकामा १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णयसँगै हवाइजहाजको टिकट पूरै बिक्री भएको छ।
हवाइ सेवा कम्पनीले अधिकांश ठाउँमा मंगलबार र बुधबारको लागि ‘फुल अकुपेन्सी’ भएको बताएका छन्।
कम्पनीहरुले सोमबारदेखि नै हवाइ उडान थप गरेका थिए। हवाइ उडान थप गरे पनि यात्रुको चाप बढी हुँदा सिट क्षमता भरिएको हो।
काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्या धेरै भए पनि काठमाडौं भित्रिने यात्रु ४० देखि ५० प्रतिशत मात्रै रहेको वायुसेवा कम्पनीले बताएका छन्।
‘आज र भोलिको लागि काठमाडौंबाहिर जान टिकट पाउन मुस्किल रहेको छ’, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने, ‘काठमाडौं उपत्यका भित्रिनेको संख्या घटेको छ। अहिले ४० देखि ५० प्रतिशत यात्रु रहेका छन्।’
हवाइ कम्पनीले अघिल्लो हप्तासम्म यात्रु नपाउँदा सस्तो भाडादरमा यात्रु बोकेका थिए। यात्रु बढ्नेबित्तिकै फुल भाडादरमा लिन थालेका छन्।
यति एयरलाइन्सले १ हप्ताअघि काठमाडौं–भैरहवा १७ सय रुपैयाँ भाडा रहेको छ। अहिले बढेर ४ हजार माथि पुगेको छ।
त्यस्तै श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले आज र भोलिको लागि सबै गन्तव्यमा टिकट बुकिङ भइसकेको बताए। उनले पर्सि अर्थात् निषेधाज्ञाको भोलिपल्ट १७ गतेको लागि पनि बुकिङ भइरहेको जानकारी दिए।
सरकारले काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक यातायात पूर्णरुपमा बन्द गर्ने निर्णय गरे पनि आन्तरिक उडान बन्द गर्ने औपचारिक निर्णय गरिसकेको छैन।
सरकारले आन्तरिक उडानलाई व्यवस्थित गर्ने भने पनि कसरी व्यवस्थित गर्ने मोडालिटी सार्वजनिक भएको छैन।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निषेधाज्ञाको समयमा आन्तरिक उडान कसरी चल्ने भन्ने निर्णय नआएको बताएका छन्।

प्रतिक्रिया