आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडले २३औं वार्षिक साधारणसभा आइतबार गरेको छ।
विश्वव्यापी महामारी कोभिड-१९ को दोस्रो लहरको कारण कम्पनीले सरकारी स्वास्थ्य मापदण्डअनुसार अनलाइन रुपमा साधारणसभा गरेको हो।
कम्पनीका अध्यक्ष हेमराज ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको बताउँदै हाल बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भइरहेको बताए।
उनले आगामी दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुने विश्वास लिएको बताउँदै हाल कुल बीमाको पहुँच २६ प्रतिशत रहेको जानकारी दिए।
समग्र बीमाक्षेत्रको कुल ग्रार्हस्थ्य उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको उनको भनाइ छ।
बीमाको दायरामा वृद्धि भई व्यावसाय र मुनाफामा पनि क्रमशः वृद्धि हुने विश्वास लिएको उनले बताए।
कम्पनीको व्यवसायमा भएको विस्तारसँगै जोखिम धारण क्षमतामा समेत वृद्धिको लागि कम्पनीले चुक्ता पुँजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक हुने हुनाले हालको चुक्ता पुँजीको ७ प्रतिशतको दरले बोनस सेयर प्रदान गर्ने र सो पश्चात् कम्पनीको नियामक निकाय बीमा समितिबाट स्वीकृत भएपश्चात् जारी गर्ने गरी ४० प्रतिशतले हकप्रद सेयरको प्रस्ताव कम्पनीको २३औं साधारणसभाबाट पारित भएको छ।
उल्लिखित पुँजी वृद्धिसम्बन्धी विशेष प्रस्ताव स्वीकृति भएको हुनाले बोनस तथा हकप्रद सेयर जारी भएपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने अध्यक्ष ढकालले जानकारी दिए।
सभामा अध्यक्ष ढकालले कम्पनीको आफ्नै केन्द्रीय कार्यालय प्रयोजनको लागि पानीपोखरीस्थित मुख्य सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरिसकेको पनि बताए।
साधारणसभाको निर्देशनबमोजिम नै निकट भविष्यमा नै उक्त जग्गामा भवन निर्माणको कार्य अगाडि बढाइने व्यहोरा समेत जानकारी गराए।
कम्पनीले २३औं साधारणसभासमक्ष पेश गरेको सबै साधारण तथा विशेष प्रस्तावहरु सभाले कर्तल ध्वनीका साथ स्वीकृत गरेको छ।
त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले लगानीकर्ताहरुको भावना र सञ्चालक समितिको निर्देशनअनुसार कम्पनी अगाडि बढिरहेको बताए।
कम्पनीले क्रमशः आफ्नो स्थान अग्रणी गर्दै गएकोमा निकट भविष्यमा नै पाँचौँ स्थानमा कम्पनीलाई स्थापित गर्ने लक्ष्य रहेको पनि जानकारी गराए।
उनले आगामी दिनहरुमा शाखा विस्तारभन्दा पनि गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित कम्पनी अगाडि बढेको बताए।
आ.व. २०७५÷०७६ मा १ अर्ब २६ करोड ७० लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा १ अर्ब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरी गत वर्षको दाँजोमा १०.४५ प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी दिए।
चालू आवको चैत मसान्तसम्ममा कम्पनीले कुल १ अर्ब १४ करोड बीमा शुल्क आर्जन गरिसकेको पनि सभालाई जानकारी गराए।
Shares

प्रतिक्रिया