आगामी आर्थिक वर्ष २०७८/०७९ मा सरकारको आम्दानी बढ्नसक्ने देखिएको छ।
अब अर्थतन्त्रमा कोरोना प्रभाव नपर्ने हो भने सरकारको आम्दानी स्रोत आगामी आर्थिक वर्षमा उल्लेख्य वृद्धि हुने तथ्याङ्कहरुले देखाएको हो।
चालू आवमै करको दायरा बढेको र कोरोनापछि उद्योगधन्दाहरुले उत्पादन बढाउनथालेका छन् भने वस्तु खपतसमेत बढेको छ।
फागुन मसान्तसम्ममा गत वर्षको त्यही अवधिभन्दा कुल वस्तु आयात २.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ४३ अर्ब ९९ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.६ प्रतिशतले घटेको थियो। चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ।
यसले नेपालमा वस्तु खपत बढेको देखिन्छ। सोही कारण भन्सार महसुल बढ्ने देखिन्छ।
राजस्व संकलनमा सफलता
सरकारको मुख्य आम्दानीको स्रोत रहेको राजस्व चालू आवमा लक्ष्यभन्दा बढी संकलन हुने देखिएको छ।
चालू आर्थिक वर्षको ९ महिना सकिँदा सरकारको भन्सार तथा आन्तरिक दुवैतर्फको राजस्व उत्साहजनक देखिएको हो।
चालू आर्थिक वर्षमा सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको खर्च गर्ने लक्ष्य राखेको थियो। जसमा सरकारले राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो। त्यसमा ६७ प्रतिशत राजस्व संकलन भइसकेको हो।
त्यसो त आर्थिक वर्षको अन्तिममा धेरै राजस्व संकलन हुने नेपालको परम्परा छ। यो तुलनामा सरकारले आफ्नो आम्दानीको लागि राखेको राजस्वतर्फको लक्ष्यभन्दा बढी संकलन हुने देखिएको छ।
जसमा आन्तरिकतर्फ र भन्सारतर्फको राजस्व पनि उत्साहित छ।
आन्तरिक राजस्वतर्फ चैत महिनामा मात्रै आन्तरिक राजस्व विभागले ५५ अर्ब ५८ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर त्योभन्दा ८५ करोड बढी अर्थात् ५६ अर्ब ४३ करोड रुपैयाँको राजस्व संकलन गरेको हो।
यसरी हेर्दा आन्तरिक राजस्व उत्साहजनक रुपमा बढिरहेको छ। चालू आर्थिक वर्षको नौ महिना अर्थात् चैतसम्ममा आन्तरिक राजस्वतर्फ ३ सय १० अर्ब उठेको छ। जुन चैतसम्मको लक्ष्यअनुसारकै हो।
यता भन्सारतर्फको राजस्व पनि बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।
भन्सारतर्फ चैत महिनामा मात्रै भन्सार विभागलाई ३६ अर्ब राजस्व संकलन लक्ष्य दिइएको थियो। तर लक्ष्यभन्दा बढी ४९ अर्ब रुपैयाँ संकलन भएको छ। भन्सार विभागले चालू वर्षको नौ महिनामा ३ खर्ब ८ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिइएकोमा ३ खर्ब ३० अर्ब संकलन भएको छ।
यसकारण वृद्धि
गत आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य ९ खर्ब ८१ अर्ब १३ करोड रुपैयाँ थियो। चालू आर्थिक वर्षमा ८ खर्ब ८९ अर्ब ६२ करोड अर्थात् झण्डै १ खर्ब रुपैयाँको लक्ष्य कम गरिएको छ।
त्यसकारण पनि चालू आर्थिक वर्षमा मासिक लक्ष्यहरुमा नै राजस्व सुधार भएको देखिएको हो। अर्को कारण भनेको गत वर्ष सुनको कोटा घटाइनु पनि हो। दैनिक २० किलो सुनको कोटालाई घटाएर १० किलोमा झारिएको थियो।
त्यसको परिणाम उक्त आवको अन्त्यमा सुन आयातमार्फत लाग्ने सुनको भन्सार शुल्क गिरावट आएको थियो। तर अहिले सुनको कोटा बटाएर दैनिक पुनः २० किलो नै कायम गरिएको छ। जसकारणले भन्सारको रुपम पनि बढ्न थालेको हो। सुन भन्सार शुल्क बढाउने मुख्य स्रोत मानिन्छ।
अर्को कुरा सरकारको आम्दानी वृद्धि हुनुमा करको दायरा पनि वृद्धि भएको छ।
२०७७ फागुनसम्म स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ३९ लाख ११ हजार ४ सय ६४ पुगेको छ। यो भनेको गत वर्षको यो अवधिभन्दा ५ लाख ७३ हजारले बढी हो।
चालू आवको फागुनसम्ममा अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता १५ लाख ४८ हजार ९ सय, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २३ लाख ५४ हजार ३ सय र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ८ हजार २ सय पुगेको छ।
यसैगरी मूल्यअभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ८२ हजार ५ सय २६ रहेको छ। जुन गत वर्षको यही अवधिभन्दा २६ हजार ५ सयले बढी हो।
त्यस्तै अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख ९ हजार २ सय ९८ पुगेको छ। जुन गत वर्षको यही अवधिभन्दा १५ हजारले बढी हो।
यसरी करको दायरा वृद्धि हुँदा पनि चालू आर्थिक वर्षमा सरकारको आम्दानी सोचेभन्दा बढी भइरहेको छ।
प्रतिक्रिया