कारोबार


सडक विभाग र केयूकेएलले महानगरसँग सहकार्य गर्न मानेनन्

सडक विभाग र केयूकेएलले महानगरसँग सहकार्य गर्न मानेनन्

नेपालखबर
साउन २९, २०७६ बुधबार १२:४८,

संघीय सरकारमातहतका दुई निकायले स्थानीय तहसँग विकास निर्माणमा सहकार्य गर्न अस्वीकार गरेका छन्। विकास र निर्माणका काममा सहकार्य गर्ने भन्दै काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहतको सडक विभाग र खानेपानी मन्त्रालयमातहतको निकाय काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई पत्र पठाए पनि दुई निकायले बेवास्ता गरेको महानगरपालिकाले जनाएको छ।

महानगरले सडक विभाग र केयुकेएल लगायतको निकायलाई आगामी विकास निर्माणको कामको विवरण माग गरेको थियो। महानगरले एक स्थानमा फरक–फरक समयमा काम हुँदा संरचना निर्माण हुँदै भत्काइने काम भइरहेको भन्दै ती काममा समन्वयय गर्न चाहे पनि संघीय सरकारमातहतका निकायले बेवास्ता गरेका हुन्।

जेठमा पठाएको उक्त पत्रको दुवै निकायले प्रतिक्रिया नदिएको महानगरले जनाएको छ। गत जेठ २ गते सहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरले हस्ताक्षर गरेको पत्रमा १५ दिनभित्र त्यहाँसँग सम्बन्धित देहायका कार्यहरुको विवरणहरु तयार गरी पठाइदिनुहुन र सोहीअनुसार कार्यसम्पादन गरी काठमाडौं महानगरलाई व्यवस्थित सहर बनाउने कार्यमा सहयोग पु¥याउनुहुन आदेशानुसार अनुरोध गरिन्छ भन्ने थियो। त्यसको जवाफ नआएपछि काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र यसैको आयोजना कार्यान्वयन निर्देशनालयका अधिकारीलाई — यसअघि सबै बसेर, समय तोकेर सम्पन्न गर्ने भनिएका काम हुन नसक्नुको कारण सोधेको महानगरले जनाएको छ।

बुधबार प्रमुख शाक्यको कार्यकक्षमा बोलाइएको बैठकमा सहभागी अधिकारीसँग मेयर शाक्यले अधिकारीहरुलाई आवश्यकता महसुस गराउँदै भने, ‘जनता आफ्ना समस्या समाधान खोज्न कुनै बिभाग वा अरु कुनै निकायमा जाने होइन। न त जनता यसो भन्दै छन् भनेर जनप्रतिनिधि तपाईंकोमा जाने हो। अब सबैले आफ्ना—आफ्ना जिम्मेवारीभित्र परेका काम समयमा नै सम्पन्न गर्नुपर्छ ।’

मेयर शाक्यले बैठकका क्रममा भने, ‘यो मेरो निर्देशन होइन, अनुरोध हो। जो जुन काम गर्नका लागि स्थापना भएको हो। जसको नियमित काम नै त्यही हो। ती निकायलाई निर्देशन दिनुपर्दैन।’ उनले आफ्नो जिम्मेवारी तोकिएको समयभित्र पूरा गर्न आग्रह गरेका थिए। बैठकमा विगत बैठकमा भएका निर्णय कार्यान्वयनको अवस्था सन्तोषजनक नभएको भन्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले भने, ‘कि राम्रो गर, कि मैदान खाली गर’ भन्नु पर्ने अवस्था आएको बताए। काम हुनुअघि वडा र महानगर जताततै देखिने सरोकारवाला काम सकिएर सडकलाई उस्तै बनाउनुपर्ने बेला कता हराउँछन् कता?’ उनले सडक किनारामा थुपारेका धेरै निर्माण सामग्री उठाएर टेकुमा पु¥याएर राखेका बताए।

बैठकमा सडक विभागका इञ्जिनियर सुदर्शन कार्की, दीप बाराही, काठमाडौं उपत्यका खानेपानी लिमिटेड ढल महाशाखा प्रमुख अर्जुनबाबु ढकाल, आयोजना कार्यान्वयन निर्देशनालयका उपकार्यकारी निर्देशक मिलन शाक्य उपस्थित भएका थिए। बैठकले भदौ मसान्तभित्र सडकसँग सम्बन्धित मर्मतसम्भारका काम सक्ने गरी सात दिनभित्र कार्ययोजना बनाउने निर्णय गरेको छ।

त्यस्तै सडक किनारामा पाइप लाइन बिस्तार गर्दा खनिएको ठाउँ र त्यसको अगाडि पछाडिको भागलाई खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले मर्मत गर्ने, सडक बिभागले जेब्रा क्रममा चिन्ह लगाउने काम सम्पन्न गर्ने, केवल तथा इन्टरनेट सेवा प्रदायकलाई तार व्यवस्थापन गर्न नगर प्रहरी महाशाखामार्फत पत्राचार गर्ने, पोल र सडकमा जथाभावी लत्रिएका तारलाई वाटतावरण व्यवस्थापन विभागले काट्ने प्रबन्ध मिलाउने निर्णय भएको छ। महानगरको सहरी सुशासन विभागका प्रमुख हरिबहादुर कुँवरकाअनुसार नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रमा राखेर सडक व्यवस्थापनमा महानगरले प्राथमिक योजना अघि सारेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad