नेपाल निर्माण व्यवसायी महासंघले करिब १ खर्ब रुपैयाँ भुक्तानी बाँकी रहेको बताएको छ।
महासंघको २२औँ साधारणसभामा बोल्दै अध्यक्ष रवि सिंहले आइतबार सरकारलाई उक्त रकम तत्काल भुक्तानी गर्न आग्रह गरेका छन्।
निर्माण व्ययवसायीले कोभिड १९ को कठिन परिस्थितिमा समेत काम गरेको तर सरकारले समयमा भुक्तानी नगरेको व्यवसायीको गुनासो रहेको छ।
२७ सय ३२ रुग्ण आयोजनामा कोभिड १९ को प्रभावले आयोजना अघि बढ्न नसकेको भन्दै अध्यक्ष सिंहले म्याद थपलगायतका समस्या समाधान गर्न आग्रह गरे।
महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले कोभिड तथा भुक्तानीको समस्याका कारण १५ हजार निर्माण व्यवसायी मारमा परेको बताए।
उनले प्रत्यक्ष/अप्रत्यक्ष गरी १५ लाख रोजगारी सिर्जना गरेको दाबी गरे।
पाण्डेले समयमै भुक्तानी नगरे सरकारले शिलान्यास गरेका नयाँ सडक अलपत्र पर्ने चेतावनी दिए।
‘सरकारले निर्माण व्यवसायीको भुक्तानी नगर्दा डन्डी/सिमेन्ट व्यवसायीलाई हामीले भुक्तानी गर्नसकेका छैनौँ’, पाण्डेले भने, ‘भुक्तानी समयमा नभए ऋणको भारीले नयाँ शिलान्यास गरिएका सडक निर्माण हुन सक्दैनन्।’
उनले सरकारले गिट्टी बालुवाजस्ता निर्माण सामग्रीको उपलब्धता गराउन नसक्दा निर्माणको काम प्रभावित भइरहेको बताए।
नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री वीर बहादुर बलायरले सरकारको कमजोरीको कारण निर्माण व्यवसायीले दुःख पाउन नहुने बताए।
उनले नयाँ आयोजना रोकेर भए पनि व्यवसयीको रकम भुक्तानी गर्नुपर्ने बताए।
सरकारले डिजाइन गरेको पुल फेल हुने तर दुःखजति व्यवसायीले पाउने गरेको उनको भनाइ छ।
‘निर्माण क्षेत्रलाई व्यवस्थित गर्नको लागि व्यवसायीको वर्गीकरण आवश्यक छ’, पूर्वमन्त्री बलायरले भने, ‘२ करोडको ठेक्कामा पनि २ अर्बकोमा पनि उही निर्माण व्यवसायीको अनुहार देखिन्छ।’

प्रतिक्रिया