कारोबार


माथिल्लो तामाकोशीः वैशाख दोस्रो हप्ताबाट पेनस्टक र सुरुङमा पानी हालिने

माथिल्लो तामाकोशीः वैशाख दोस्रो हप्ताबाट पेनस्टक र सुरुङमा पानी हालिने

नेपालखबर
चैत २५, २०७७ बुधबार १०:५३,

स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अन्तिम चरणका काम धमाधम भइरहेको छ।

बाँध, सुरुङ, प्रसारणलाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना कामहरु भइरहेको छ।

माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक पाइप जडानको अन्तिम चरणको काम भइरहेको हो।

पाइपको ज्वाइन्टमा वेल्डिङ र पेन्टिङको काम आगामी वैशाख ६ गतेभित्र सम्पन्न गर्ने लट २ हाइड्रोमेकानिकल ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।

हाल हाइड्रोमेकानिकलतर्फका केही गेटहरु र पेनस्टक पाइपसँग सम्बन्धित केही कंक्रिटिङको काम मात्रै बाँकी छ।

upper mathillo tamakoshi23

बाँकी रहेका सानतिना काम सम्पन्न गरी आगामी वैशाखको दोस्रो हप्ताबाट पेनस्टक र मुख्य सुरुङमा पानी हाली पेनस्टक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, सर्ज सुरुङ, पेनस्टक पाइप जस्ता संवेदनशील संरचनाहरु तथा गेट, म्यानहोल र भल्भहरुको प्राविधिक परीक्षण गर्ने लक्ष्य तय गरी काम भइरहेको छ।

मुख्य निर्माणअन्तर्गत बाँध/इन्टेक, मुख्य सुरुङ, विद्युतगृह, टेलरेस सुरुङलगायतका सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ।

जलाशय र बालुवा थिग्राउने पोखरीमा पानी भरी बाँध, इन्टेक लगायतका सिभिल संरचनाहरु र त्यहाँ जडान गरिएका गेट, स्टपलग जस्ता हाइड्रोमेकानिकल उपकरणहरुको सफलतापूर्वक प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ ।

upper mathillo tamakoshi24

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्यले सोमबार र मंगलबार निर्माणस्थलको स्थलगत अवलोकन गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीनवटै ठेकेदारहरुसँग संयुक्त रुपमा बाँकी रहेका निर्माण कार्यहरु सिघ्र सम्पन्न गरी सुरुङमा पानी भर्ने कार्यतालिका बारेमा छलफल गरेका छन्।

बाँकी रहेका कामहरु आगामी वैशाख १० गतेभित्र सम्पन्न गरी वैशाख ११ बाट सुरुङमा थोरै परिमाणमा पानी पठाई मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न सुरु गर्ने र पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ।

यसअनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनाहरुमा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६र६ वटा टर्वाइन र जेनेरेटरहरुको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ। यस क्रममा पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्र विद्युत उत्पादन सुरु हुने शाक्यले जानकारी दिए।

‘भूकम्प, बाढीपहिरो, कोरोनाकहर जस्ता विभिन्न समस्या झेल्दै आएको आयोजना निरन्तरको प्रयासबाट अब विद्युत् उत्पादन सुरु गर्न सक्ने अवस्थामा पुर्याएका छौं, निर्धारित तालिकाभन्दा अगावै विद्युत् उत्पादन हुने गरी बाँकी रहेका काम समानान्तर रुपमा अगाडि बढाएर सम्पन्न गर्नुपर्छ’, उनले भने, ‘चालू आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत उत्पादन हुनुपर्छ।’

आयोजनामा ७६/७६ मेगावाटका ६ वटा युनिटहरु रहेका छन्। पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश: विद्युत उत्पादन हुनेछ।

upper mathillo tamakoshi25

२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन,हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो । लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो।

कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो।

भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनुपरेको, केही संरचनाको डिजाइन हेरफेर लगायतले आयोजनाको निर्माणमा केही ढिलाइ भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए।

‘स्वदेशी लगानीमा हाल निर्माण भइरहेको मुलुककै सबैभन्दा ठूलो आयोजना ठूला–ठूला प्राकृतिक विपत्ति र विश्वव्यापी महामारी कोभिड–१९ को चपेटामा पर्यो, त्यसबाट तंग्रिदै विद्युत् उत्पादनको चरणमा पुगेको छ, यो सबैका लागि खुसीको विषय हो’, उनले भने।

लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो ।

आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ।

यही पूर्वाधारलाई प्रयोग गरी तामाकोशी नदी बेसिनमा पर्ने विभिन्न खोलामा माथिल्लो तामाकोसी बाहेक सानाठुला गरी करिब ७०० मेगावाट जम्मा क्षमता बराबरका २१ जलविद्युत आयोजनाहरु अगाडि बढेका छन्।

आयोजनाले सडक बनाइदिएपछि दोलखाको उत्तरी क्षेत्रमा पर्ने साबिकका २० गाविसका जनतालाई आवतजावत सहज भएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad