मुलुकको पछिल्लो आठ महिनामा सबैभन्दा धेरै निर्यात भएको वस्तुमा सोयबिन तेल परेको छ। चालु आर्थिक वर्षको यो अवधिमा भारतमा तेलको निकासी ह्वात्तै बढेको हो।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन महिनासम्म २३ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको हो।
यो गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनामा २०७.४७ प्रतिशतले बढी हो। गत आव को पहिलो आठ महिनामा ७ अर्ब ५२ करोड १५ लाख २८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो।
यस वर्षको आठ महिनामा निर्यात भएको तथ्यांक गत आर्थिक वर्षभरीको भन्दा झन्डै दोब्बर छ।
गत आर्थिक वर्षभरीमा ९४ करोड १८ लाख ३६ हजार ९९ केजी अर्थात १२ अर्ब ६९ करोड ११ लाख २० हजार मूल्य बराबरको सोयाबिन तेल निर्यात भएको थियो।
सोयाबिन तेलका लागि चाहिने कच्चा पदार्थका लागि भारतलगायतका देशमा निर्भर हुनुपर्छ। कच्चा पदार्थ आयात गरेर पनि त्यसको तेल निर्यात उच्च भएको छ।
भन्सार विभाग कै तथ्यांक हेर्ने हो भने २५ अर्ब रुपैयाँ बराबरको क्रुड सोयबिन तेल आयात भएको छ।
यो आठ महिनामा सोयाबिन तेलपछि सबैभन्दा धेरै निर्यात हुने वस्तुमा धागो रहेको छ। यस अवधिमा नेपालबाट ५ अर्ब १० करोड ४० लाख ८८ हजार रुपैयाँ बराबरको धागो निर्यात भएको छ।
तर, गत वर्षको तुलनामा धागो निर्यात भने घटेको छ। विभागको तथ्यांकअनुसार गत वर्षको पहिलो आठ महिनामा ५ अर्ब ९६ करोड ५२ लाख ९८ हजार रुपैयाँ बराबरको धागो निर्यात भएकोमा यसपाली १४.४४ प्रतिशतले घटेको हो।
त्यस्तै, तेस्रो ठूलो निर्यात हुने वस्तुमा अलैंची रहेको छ। यो आठ महिनामा अलैँचीको निर्यात ५३.४९ प्रतिशतले निर्यात वृद्धि हुँदै ४ अर्ब ९५ करोड १९ लाख ९५ हजार रुपैयाँ पुगेको छ।
चौथो स्थानमा उलन कार्पेट ४ अर्ब ७४ करोड ९० लाख रुपैयाँ बराबरको निर्यात भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ३.११ प्रतिशतले कमी हो।
पाँचौ धेरै निर्यात भएको वस्तु हो जुट र यसका उत्पादनहरु। यस वर्ष जुट र यसका वस्तुको निर्यातमा वृद्धि भएको छ। गत वर्षको पहिलो आठ महिनाको तुलनामा झन्डै २२ प्रतिशतले वृद्धि हुँदै ४ अर्ब ८२ करोड ३५ लाख १२ हजार रुपैयाँ बराबरको जुट र यसका उत्पादनहरुको निकासी भएको छ।
त्यसपछि निर्यात धेरै हुनेमा क्रमशः तयारी पोशाक, चिया, फेल्ट, टेक्सटाइल, जुस, पश्मिना, आइरन स्टिल, हेडिसिनल हर्ब, चाउचाउ, जुत्ताचप्पल, टुथपेस्टलगायतका वस्तु रहेका छन्।
Shares

प्रतिक्रिया