कारोबार


पाँच दिनमै प्रिपेड डलर कार्डको माग उच्च, कसरी लिने यो कार्ड?

पाँच दिनमै प्रिपेड डलर कार्डको माग उच्च, कसरी लिने यो कार्ड?

सन्तोष न्यौपाने
चैत १२, २०७७ बिहिबार १६:४५,

नेपाल राष्ट्र बैंकले विदेशमा भुक्तानी गर्न सकिने प्रिपेड डलर कार्ड बैंकहरुले जारी गर्न सक्ने नयाँ नियम ल्याएको पाँच दिनमै यसको माग उच्च भएको छ।

लामो समयदेखि डलर भुक्तानीको लागि कार्डको माग भइरहेको बेला राष्ट्र बैंकले सहज व्यवस्था गरिदिएपछि यसको माग बढेको हो।

यसअघि नेपालबाट विदेशमा सानोतिनो भुक्तानी गर्नको लागि पनि विदेशकै साथीभाइसँग निर्भर हुनुपर्ने अवस्था थियो। यसले सम्बन्धित उपभोक्तालाई अप्ठ्यारो थियो।

‘सानोतिनो सेवाका लागि पनि यहाँबाट भुक्तानी गर्नसक्ने अवस्था थिएन’, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले भने, ‘यसले व्यक्तिगत रुपमा विदेशमा गरिने स–साना भुक्तानीलाई सहज बनाएको छ।’

उदाहरणका लागि कसैले नेपालबाट न्युयोर्क टाइम्सको अनलाइन संस्करणको ग्राहक बन्न वा नेटफ्लिक्सको ग्राहक बन्नलाई विदेशकै साथीभाइमार्फत भुक्तानी गर्नुपर्ने बाध्यता थियो।

तर अब राष्ट्र बैंकले प्रिपेड कार्ड जारी गर्नसक्ने अधिकार दिएपछि बैंक र ग्राहक दुवैलाई फाइदा पुग्ने भएको छ।

यो सेवा भारतबाहेकका अन्य देशमा भुक्तानी गर्न सकिनेछ।

बैंकहरुले धमाधम जारी गर्नथाले कार्ड
यो सेवा सुरु गर्नका लागि उपभोक्तादेखि बैंकहरुले धेरै पहिलादेखि माग गर्दै आएको शाक्यले बताए।

राष्ट्र बैंकले प्रिपेड डलर कार्ड जारी गर्नसक्ने नियम ल्याएसँगै बैंकहरुले पनि धमाधम सेवा सुरु गरेका छन्।

नबिल बैंकले यसको सेवा सुरु गर्दै हरेक शाखाबाट यो कार्ड लिन सकिने जनाएको छ।

‘हामीले हरेक शाखामा यो कार्ड पु¥याइसकेका छौँ’, शाक्यले भने, ‘पछिल्लो तीन÷चार दिनदेखि यस कार्डको माग र सोधपुछ ह्वात्तै बढेको छ।’

अर्को हप्तादेखि भने यसको वितरण पनि उच्च हुने उनको अनुमान छ।

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्र ल्याएसँगै नबिल बैंक, एनएमबी बैंक, ग्लोबल आइएमई बैंकले यस्तो कार्ड दिन सुरु गरिसकेका छन् भने अन्य बैंकले पनि जारी गर्ने तयारीमा छन्।

एनएमबि बैंकले आफ्नो प्यान कार्ड र नागरिकतासहित खाता खोली विदेशबाट पाइने सुविधाहरु जस्तै अनलाइन प्रवाह हुने सेवाहरु नेटफ्लिक्स, सपिङ, शिक्षालगायत आफ्नै कार्ड प्रयोग गरी भुक्तानी गर्न सकिने जानकारी दिएको छ।

ग्लोबल आईएमई बैंकले पनि बिहीबारदेखि नै ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ। अनलाइनमार्फत विदेशी वस्तु तथा सेवा खरिदको लागि भुक्तानी गर्न उक्त सेवा ल्याएको बैंकले जनाएको छ।

भुक्तानी सीमा वर्षमा ५ सय डलर
यो कार्डबाट एक वर्षमा अधिकतम पाँच सय डलरसम्म खर्च गर्न पाइनेछ। खर्च गर्न सुरुमा यस कार्डमा डलर लोड गर्नुपर्छ।

आफूलाई आवश्यकताअनुसार एक सय, दुई सयदेखि अधिकतम पाँच सयसम्म लोड गर्न सकिनेछ। यदि कसैले सुरुमा २ सय डलर राख्छु र ६ महिनापछि ३ सय डलर राख्छु भन्यो भने त्यसरी पनि राख्नसक्ने शाक्यले बताए।

यदि कुनै ग्राहकले ५ सय डलर लोड गरेको छ र वर्षभरिमा ३ सयमात्र डलर खर्च भएको छ भने बाँकी २ सयलाई अर्र्को वर्ष खर्च गर्न पनि पाइनेछ। अर्को वर्ष उसले थप ३ सय थपेर ५ सयर डलर खर्च गर्न सक्ने उनको भनाइ छ।

कसरी लिने कार्ड ?
प्रिपेड डलर कार्ड लिनको लागि सबैभन्दा पहिला बैंक खाता अनिवार्य चाहिन्छ। यदि बैंक खाता छ भने त्यसको केवाईसी अपडेट भएको हुनुपर्छ।

बैंक खातापछि राष्ट्र बैंकले प्यान कार्ड पनि अनिवार्य गरेको छ। प्यान कार्ड नभई यो कार्ड बनाउन नसकिने भएकाले अहिले बैंकका खाता भएकाहरु प्यान कार्ड लिनेहरु बढ्नथालेका छन्।

‘प्यान कार्ड नभएका ग्राहकलाई अनलाइनबाट यसरी प्यानकार्ड लिन सकिन्छ भनेर भनिरहेका छौँ’, शाक्यले भने।

ग्राहकले यस्तो डलर कार्ड एउटा मात्र लिन सक्नेछन्। अर्थात् दुईवटा बैंकबाट दुईवटा लिन्छु भनेर पाइँदैन।

यस्तो कार्ड व्यक्ति र संस्थागत रुपमा पनि लिन पाइनेछ।

कार्डबाट के–के लिन पाइन्छ सेवा ?
राष्ट्र बैंकले यो कार्ड प्रयोग गरेर वस्तु र सेवाको भुक्तानी गर्न सकिने भनेको छ। वस्तु भन्नाले सानो सानो वस्तु किन्न पनि यसबाट भुक्तानी गर्न सकिनेछ।

उदाहरणका लागि अमेजन, नेटफ्लिक्स, अलिबाबामा पे गर्न प्रयोग हुन्थ्यो। पहिलो अलि पे, अलि एक्सप्रेसबाट सामान आउँथ्यो। यस किसिमका भुक्तानी अब यही कार्ड प्रयोग गरेर ल्याउन सकिनेछ।

शिक्षा सेवाहरुजस्तो कि न्युयोर्क टाइम्सजस्ता विभिन्न अनलाइन न्युज पोर्टलको ग्राहक बन्न, नेटफ्लिक्समा ग्राहक बन्न, विभिन्न शिक्षा सेवाहरु लिन यसको प्रयोग गर्न सकिनेछ।

त्यस्तै, शैक्षिक शुल्क, युट्युब, फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा स्पोन्सर, प्रोमोसनजस्ता विज्ञापनजन्य अनलाइन सेवा खरिदको भुक्तानी समेत यो कार्डमार्फत नेपालबाटै गर्न सकिनेछ।

अहिलेसम्म यदि कसैले विदेशमा भुक्तानी गर्नुपरेमा विदेशमा सम्पर्क गरेर उतैबाट भुक्तानी गर्ने प्रबन्ध मिलाउनुपर्ने बाध्यता थियो।

फेसबुकलगायत अनलाइन प्लेटफर्ममा विज्ञापन गर्दा विदेशबाटै भुक्तानी गर्नुपथ्र्यो।

कति लाग्छ शुल्क?
अन्तर्राष्ट्रिय डलर भुक्तानी गर्न सकिने यो कार्ड बनाउन बैंकअनुसार फरक फरक शुल्क तोकिएको छ। कार्ड बनाउन सामान्य शुल्क लाग्ने शाक्यले बताए।

बैंकअनुसार यो कार्ड लिँदा शुल्क फरक–फरक रहेको छ। जस्तो कि नबिल बैंकले यो कार्ड लिने शुल्क एक हजार तोकेको छ। त्यस्तै, ग्लोबल आईएमई बैंक र एनएमबी बैंकले ५ सय रुपैयाँमै यो कार्ड दिएका छन्।

यसका साथै प्रत्येक वर्ष कार्डको नवीकरण गर्नुपर्ने सम्बन्धित बैंकहरुले जनाएका छन्।

कार्ड हरायो, पिन हरायो भने पनि अर्को कार्ड लिन सामान्य शुल्कबाहेक अन्य शुल्क नलाग्ने उनीहरुको भनाइ छ।

तर अन्तर्राष्ट्रिय भुक्तानीमा पहिलोदेखि लाग्दै आएको ‘क्रसबोर्डर ट्रान्ज्याक्सन’ शुल्क भने यसमा पनि लाग्नेछ। क्रसबोर्डर ट्रान्ज्याक्सनमा एक प्रतिशत शुल्क लाग्छ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल पेमेन्टमा विशेष ध्यान दिएर काम गरेकाले यो कार्डसँगै क्युआर कोड प्रयोगमा पछिल्लो समय व्यापकता आइरहेको शाक्यले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad