कारोबार


गौतम बुद्ध विमानस्थलमा सौर्य उर्जा जडान गर्न मन्त्रालय तहमा सहमति

गौतम बुद्ध विमानस्थलमा सौर्य उर्जा जडान गर्न मन्त्रालय तहमा सहमति

रमेश पोख्रेल
साउन २७, २०७६ सोमबार १२:१,

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानथलमा निमार्ण गरिने सौर्य उर्जासम्बन्धी काम दुई महिनाभित्र सुरु हुने भएको छ। पर्यटनमन्त्री योगेश भट्टराई तथा उर्जामन्त्री वर्षामान पुनबीच सम्बन्धित सचिवहरुसमेतको उपस्थितिमा आइतबार भएको छलफलपछि यो सहमति बनेको हो।

छलफलमा पर्यटन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा तथा उर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे सहभागी थिए।

उडान–अवतरणमा बाधा पुग्ने बिजुलीका खम्बा २१ दिनभित्र सार्न सडक विभाग सहमत भएसँगै सौर्य उर्जाको विषय समेत अघि बढेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीकाअनुसार पहिलो चरणमा उडान–अवतरणमा बाधा पुग्नेगरी रहेका बिजुलीका खम्बा हटाइनेछ। ती स्थानमा विद्युत् तार अन्डरग्राउन्ड गरिनेछ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विद्युत् संरचना र प्राविधिक कामका लागि भनेर ४ करोड रुपैयाँ नेपाल विद्युत् प्राधिकणलाई निकासा गरिसकिएको छ।

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई एशियाली विकास बैंक (एडीबी) को सहयोगमा नेपालकै पहिलो सौर्य उर्जा सञ्चालित विमानस्थलको रुपमा विकास गर्दैछ।
यो विश्वकै दोस्रो सौर्य उर्जा सञ्चालित अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ।

विद्युत् प्राधिकरणसँग सौर्य उर्जाबाट उत्पादित विद्युत् व्यवस्थापनबारे समेत माैखिक सहमति भएको छ। सौर्य उर्जाबाट उत्पादित विद्युत् प्रवाहलाई प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ।
पछिल्लो समय अधिग्रहण गरेको सहित विमानस्थलसँग ८१० बिघा जग्गा छ। यो खाली जग्गामा सौर्य प्यानल राखिनेछ।

‘विमानस्थलको खाली जग्गामा विद्युत् प्राधिकरणले सोलार प्यानल राख्नेछ। यसले गर्दा खाली जग्गा उपयोगमा पनि आउँछ’, निर्देशक अधिकारी भन्छन्, ‘सोलार विद्युत् पनि उत्पादन हुन्छ।’

सौर्य उर्जा प्रणाली स्थापना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण र एडीबीबीची अनुदान सहयोग लिने समझदारीअनुसार प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

सौर्य उर्जाबाट १० मेगावाट विद्युत्
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य उर्जाबाट दैनिक १० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। त्यसका लागि एडीबीले ‘ग्रीन एयरपोर्ट प्रोजेक्ट’ अन्तर्गत १० अर्ब रुपैयाँ अनुदान दिनेछ। यो विषयमा एडीबी, नेपाल नागकि उड्डयन प्राधिकण, नेपाल विद्युत् प्राधिकरणबीच सम्झौताको अन्तिम तयारी भइरहेको छ।

पछिल्लो समय विश्वमै हरित विमानस्थल र स्वच्छ उर्जाको विषय वातावरणमैत्री मात्र नभएर पर्यटन प्रवद्र्धनसँग पनि जोडिने गरेको छ। एडीबीले विमानस्थल सञ्चालन सँगैसँगै सौर्य उर्जा परियोजना सञ्चालनमा आउनुपर्ने प्रस्ताव गरेको छ।

‘विमानस्थलका लागि आवश्यक पर्ने उर्जाका लागि सौर्य प्रणाली जडान गर्न एडीबीले सहयोग गर्नेछ। यो काम छिटो अघि बढाउन नेपाल सरकारका निकायहरुसँग अन्तिम छलफल भइरहेका छन्’, एडीबी नेपाल कार्यलयका यातायात हेर्ने अधिकृत नरेश प्रधान भन्छन्।

सौर्य उर्जाको विद्युत्ले एयर ट्राफिक कन्ट्रोल, ब्यागेज क्लेम, धावनमार्ग कन्ट्रोल रुम, यात्रु टर्मिनलसहित सम्पूर्ण विमानस्थल सञ्चालन हुनेछ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएशन कन्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ। पूर्वाधार क्षेत्रमा कोशेढुंगा मानिएको यो परियोजनामा एडीबीको सहुलियतपूर्ण ऋण सहयोग निर्माण भइरहेको हो। सौर्य उर्जाका लागि प्रदान गरिने १० अर्ब अनुदान छुट्टै शीर्षकको हो।

चिनियाँ कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँमा काम गर्ने ठेक्का पाएको यो परियोजनामा एडीबीको ४०.५ प्रतिशत ऋण र १८ प्रतिशत अनुदान लगानी छ। ओपेक कोषबाट ३० दशमलव ५ प्रतिशत ऋण र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत रकम गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ।

पटक–पटक सम्पन्न मिति सारिएको यो परियोजना पछिल्लो पटक २०७६ पुसभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हालसम्म विमानस्थलको ७३ प्रतिशत काम सम्पन्न भएको छ। धावनमार्ग, टर्मिनल भवन, टावर लगायतका काम सम्पन्न भएका छन्।

यो पनि: गौतमबुद्ध विश्वकै दोस्रो सौर्य उर्जा सञ्चालित अन्तर्राष्ट्रिय विमानस्थल हुने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad