नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघले ल्याउन लागेको भिजन पेपर सार्वजनिक गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्ता गरेका छन्।
प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्रीसँग भएको छलफल कार्यक्रममा अध्यक्ष गोल्छाले प्रधानमन्त्रीलाई निम्तो दिएका हुन्।
महासंघले आफ्नो वार्षिक उत्सव चैत २८ गतेको अवसरमा २०३० सम्मको भिजन पेपर सार्वजनिक गर्न लागेको छ। अर्थतन्त्र माथि उकास्नको लागि नीजि क्षेत्र तथा सरकारले के कस्तो कदमहरु चाल्नु पर्ने भन्ने विषयमा योजना र लक्ष्यसहितको विषयहरु उल्लेख गरेर महासंघले भिजन पेपर तयार गरेको छ।
भिजन पेपरमा १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि आधार समेटिएको छ। त्यसका साथै उद्योग तथा व्यवसायको विकास, रोजगारीको विकासलगायतका विषय पनि भिजन पेपरमा समेटिने बताइएको छ।
आज बालुवाटारको छलफलमा गोल्छाले सरकार र नीजि क्षेत्रको सहकार्य अझै धेरै हुनपर्ने बताए। उनले सरकारले अहिलसम्म लिएको नीतिका कारण नै कोरोनाले असर पुर्याएको अर्थतन्त्र सरकरात्मक तर्फ अघि बढिरहेको बताए।
उनले भने ‘अहिले अर्थतन्त्रमा केही सुधार आउन थालेको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रम तथा बजेटले कोरोनाले थलिएको अर्थतन्त्रलाई केही सुधार गर्न सफल भएको हो। अहिले साना तथा मझौला उद्योगहरु ससमस्यामा परेका छन्। यसलाई अझै राहतको आवश्यकता देखिएको अहिलेसम्म पनि केही सञ्चालनमा आउन नसकेको स्थिति समेत रहेको छ। आजसम्मको नेपालले लिएको नीति उचित थियो।’
उनले आगामी दिनमा आयात गरेर निर्यातसमेत गर्न पाउने व्यवस्था मिलाउन आग्रह पनि गरे।
प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहाकार मोतिलाल दुगडको नेतृत्वमा करिव ४ सय जना उद्योगी व्यवसयीसँग प्रधानमन्त्रीको अन्तरक्रिया भैरहेको छ। कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्टलगायत सहभागी छन्।

प्रतिक्रिया