नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ। राष्ट्र बैंकले विद्युतीय भुक्तानीको अहिले रहेको सीमा संशोधन गर्दै बढाएको हो।
बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा बढाएको जानकारी दिएको छ।
अब मोबाइल बैंकिङबाट दिनमा दुई लाख रुपैयाँ र इन्टरनेट बैंकिङको अधिकतम सीमा २० लाख रुपैयाँ कायम गरिएको छ।
तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा यो व्यवस्था लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
राष्ट्र बैंकले यसअघि २०७६ चैतमा विद्युतीय भुक्तानीको सीमा संशोधन गरेको थियो। राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेटबाट गरिने कारोबारहरुको अधिकतम सीमा प्रतिदिन एक लाखदेखि १० लाख र प्रतिमहिना १० लाखदेखि ५० लाख रुपैयाँ कायम गरेको थियो।


प्रतिक्रिया