कारोबार


१५ करोड राजश्व छली आरोपमा तीन व्यवसायीविरुद्ध मुद्दा

१५ करोड राजश्व छली आरोपमा तीन व्यवसायीविरुद्ध मुद्दा

नेपालखबर
फागुन १६, २०७७ आइतबार १६:७,

राजश्व अनुसन्धान विभागले विराटनगर महानगरपालिका–९ स्थित बाबा फ्लोर मिल्स प्रालिका सञ्चालक तथा गोपाल फ्लोर मिलका मुख्य कारोबारी सुरेशकुमार राठीसहित तीनविरुद्ध आज उच्च अदालत पाटनमा आर्थिक अपराधको मुद्दा दर्ता गरेको छ।

उनीहरूले रु १५ करोड ३६ लाख बिगो बराबरको राजश्व छली गरेको विभागले आरोप लगाएको छ। विभागले गरेको अनुसन्धानमा उनीहरूले आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर तथा आयकर छलेको पाइएको हो।

उक्त घटनामा उनीसहित सोही ठाउँका सुमन राठी र गिरधारीलाल अग्रवाल संलग्न रहेको विभागले आज एक सूचना जारी गरी जनाएको छ। दायर मुद्दामा उनीहरूमाथि बिगो असुल उपर गरी जरिवाना तथा कैद सजायको माग गरिएको छ। उनीहरूले सामान ओसारपसार गर्दा विभागको सूचना प्रणालीमा सामान प्रविष्ट नगरेको पाइएको छ।

प्रतिवादीले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (छ) बमोजिम कसुर गरेको विभागको आरोप छ।

ट्राफिकको व्यवहार सुधार अभियान
महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरीको आचरण सुधार गरी नागरिकमैत्री सेवा प्रदान गर्न कार्यक्रम थालेको छ। महाशाखाले सेवाग्राहीसँग गर्ने आचरण, व्यवहारलाई थप नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कर्मचारीको व्यवहारमा सुधार कार्यक्रमको शुरुआत गरेको जनाएको छ।

ट्राफिक प्रहरीले गर्ने दैनिक काम कारवाही एवं गतिविधिका क्रममा आउने सेवाग्राही तथा सडक प्रयोगकर्तासँग नागरिकमैत्री व्यवहारसहित सहज, सरल एवं पारदर्शी सेवा प्रदान होस भन्ने अभिप्रायले यस मूल्यांकन पद्धतिसहित पुरस्कृत गर्ने परिपाटीको शुरुआत गरिएको महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिए।

नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ र प्रहरी हवल्दार तथा प्रहरी जवान लक्षित उत्प्रेरणा अभिवृद्धि योजना २०७७ लाई कार्यान्वयन गर्न ट्राफिक प्रहरीबाट सेवाग्राही तथा सडक प्रयोगकर्तासँग सभ्य, शिष्ट र पारदर्शीरूपमा उत्कृष्ट सेवा प्रदान गर्ने उक्त कार्यक्रमको लक्ष्य छ। यसका साथै नागरिकमैत्री ट्राफिक प्रहरी छनोट कार्यविधि २०७७ बनाई लागू गरिएको एसएसपी भट्टराईले जानकारी दिए।

एक सय पूर्णाङ्कको कार्यविधिलाई दुई चरणमा विभाजन गरी प्रहरी कर्मचारीको व्यक्तिगत आचरण, कार्यसम्पादन क्षमता, सेवाग्राहिसँगको व्यवहार, अनुशासनलगायत विषय समेटिएका छन्। प्रत्येक महिना सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने दुईलाई वृत्ति विकासमा जनिने गरी नगद पुरस्कार एवं सम्मान गरिने महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए।

यसले आमसेवाग्राही एवं सडक प्रयोगकर्तालाई नागरिकमैत्री व्यवहारसहित उत्कृष्ट सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad