मेट रिम्याक एउटा विद्युतीय कार कम्पनी चलाउँछन्। यसले यो संसारमै केही विचित्रको मेसिन बेच्छ। तर यो एकदमै थोत्रो कारबाट सुरु भएको थियो।
फर्कलिफ्ट ट्रकका पार्टपुर्जा प्रयोग गरेर टेस्टबेडमा आफूले विकास गरिरहेको विद्युतीय प्रविधिका लागि उनले एउटा पुरानो बीएमडब्ल्यु सलुनलाई ‘ग्रिन मन्स्टर’मा रुपान्तरण गरेका थिए।
यसरी रुपान्तरित बीएमडब्ल्यु प्रतिस्पर्धाका लागि मोटरस्पोर्ट्स इभेन्टमा गयो। त्यहाँ यो कारले परम्परागत इन्जिनयुक्त मेसिनहरुसँग प्रतिस्पर्धा गरेर जित्नु थियो। त्यतिबेलाका लागि यो विश्वकै द्रुतगतिको विद्युतीय कार थियो।
त्यसको दुई वर्षपछि सन् २००९ को अन्त्यतिर उनले कम्पनी स्थापना गरे। ‘म कार बनाउन चाहन्थेँ, त्यो नै सर्वथोक चाहना थियो’, उनी भन्छन्।
यति भन्नु उपयुक्त हुन्छ– रिम्याक तपाईंको औसत मोटर उद्योगको कार्यकारी होइनन्।
दाह्री पालेका, चिरिच्याट्ट पहिरनका ३३ वर्षीय उनी सिलिकन भ्यालीको चम्किलो स्टार्टअपहरुमध्ये कुनैमा फिट हुनसक्छन्। साँच्चै भन्दा उनी बारम्बार टेस्लाका एलन मस्कसँगको तुलनामा आउँछन्।

यद्यपि उनी क्यालिफोर्निया छोडेर पुख्र्यौली देश क्रोएसिया फर्किए।
उनको कम्पनी रिम्याक अटोमोबिली क्रोएसियाली राजधानी जाग्रेवबाहिरको एउटा सानो सहर भेटा नेडेल्जामा छ। तैपनि प्रविधि र व्यावहारिक ज्ञानको विकासलाई त्यहाँ स्थापित उत्पादकले समेत रुचाउनथालेका छन्।
रिम्याक अटोमोबिली ‘अल्ट्रा–एक्सक्लुसिभ’ विद्युतीय हाइपर कार उत्पादनका लागि प्रसिद्ध कम्पनी हो।
सन् २०११ मा पहिलोपटक अनावरण गरिएको ‘द कन्सेप्ट वान’को उच्च गति प्रतिघण्टा ३५४ किमि थियो। यस्ता आठवटा कारमात्रै बनेका थिए। तीमध्ये एउटा स्विट्जरल्यान्डको सडक प्रतिस्पर्धाको क्रममा ध्वस्त भएको थियो।
त्यसको स्थान लिन आएको अहिलेको सी२ झनै विचित्रको छ। यसको उच्च गति प्रतिघण्टा ४१५ किमि रहेको दाबी गरिएको छ। यसले शून्यबाट १.८५ सेकेन्डमै ९७ किमि प्रतिघण्टाको गति निकाल्न सक्ने कम्पनीको दाबी छ। यही वर्ष बजारमा बिक्री हुनलागेको यो कारको मूल्य २४ लाख अमेरिकी डलर पर्नसक्नेछ।

सामान्य हिसाबले भन्ने हो भने यी कारहरु असाधारण छन्। तर तिनले रिम्याकको बिजनेस मोडलको एउटा मात्रै हिस्सा राख्छन्। कम्पनीले बढ्दो रुपमा आफूलाई अरु कम्पनीलाई प्रविधि आपूर्तिकर्ताको रुपमा स्थापित गराउँदै छ। यसको उद्देश्य ती कम्पनीहरुले आफ्नै उच्च प्रस्तुति दिने विद्युतीय कार बनाऊन् भन्ने हो।
‘किनभने पहिलो दिनदेखि नै आम्दानी बनाउन हामीसँग लगानीकर्ता थिएनन्’, उनी भन्छन्, ‘त्यही बेलादेखि हामीलाई मानिसहरु बुटिक हाइपर कार कम्पनीमा लगानी गर्न चाहँदैनन्, बरु सकिने व्यवसायमा मात्र लगानी गर्न चाहन्छन् भन्ने महशुस भयो।’
प्रविधि र विज्ञता अन्य उत्पादकलाई आपूर्ति गरेर उनले लगानी स्रोत बनाए। जसले कम्पनी टिकाएर माथि उठाउन सहज भएको उनी बताउँछन्।
सिलिकन भ्यालीका धेरैजसो उद्यमीहरुसँग मेटको एउटा कुरा ठ्याक्कै मिल्छ। त्यो हो – उनले पनि आफ्नै ग्यारेजबाट काम सुरु गरे।
सिलिकनका अरुले वेबसाइट विकास गरे, उनले चाहिँ विद्युतीय कार ‘ग्रिन मन्स्टर’ बनाए।

यसको अर्को कदम नयाँ कार ब्रान्डको डिजाइन गर्नु थियो। तर क्रोएसियामा अटोमोटिभ व्यवसाय स्थापना गर्नु भनेको ठाडै उकालो चढेर प्रमाणित गरेजस्तो थियो।
‘मैले कोही पनि कारसँग सम्बन्धित व्यक्तिलाई काममा लगाइनँ’, उनी सम्झिन्छन्, ‘म सिधै युनिभर्सिटी अफ जाग्रेवमा गएँ र भनेँ– म कार बनाउन चाहन्छु।’
‘उनीहरुले क्रोएसियामा कार बनाउन सम्भव नरहेको मलाई बताए र भने– थोरै मानिसमात्र तपाईंको साथमा हुनेछन्।’
यो त छँदै थियो, सिलिकन भ्यालीका एउटा पनि लगानी नेटवर्कलाई उनले आकर्षित गर्न सकेनन्।
‘म सिलिकन भ्यालीमा पैसाका लागि लगानीकर्तासँग कुरा गर्न एकपटक मात्र गएँ’, उनी भन्छन्, ‘तर उनीहरुले कुनै रुचि नै देखाएनन्। यो ८ वर्षअघिको कुरा हो जतिबेला विद्युतीय कारमा अहिलेजस्तो चासो एकदमै कम थियो। उनीहरु सबै सामाजिक सञ्जालमा लगानी गरिरहेका थिए, विद्युतीय कार त छुनसम्म चाहन्नथे।’
‘तर आजको अवस्था उल्टो छ। उनीहरुमध्ये अधिकांशले टेस्लाको सफलतासँगै विद्युतीय कारमा पैसाको खोलो बगाएका छन्’, उनी भन्छन्।
यसका बाबजुद उनले बलियो समर्थन पाए। सन् २०१८को सुरुतिर जर्मन स्पोर्ट्सकार उत्पादक पोर्साले कम्पनीको १० प्रतिशत सेयर किन्यो जुन पछि बढेर १५.५ प्रतिशत पुग्यो।

यो पनि त्यस्तो समयमा आयो जतिबेला पोर्साको मातृकम्पनी फक्सवागन ग्रुपले अर्बौँ युरो आफ्नै विद्युतीय कार प्रविधिमा खर्च गर्न सुरु गरिसकेको थियो।
तर पोर्सा भने आफैँ विद्युतीय स्पोर्ट्सकार विकास गरिरहेको थियो। खासगरी कम्पनी उच्च प्रस्तुति दिने ब्याट्री र ड्राइभ सिस्टममा रिम्याकको विशेष दक्षता प्रयोग गर्न चाहन्थ्यो।
‘उनले हामीभन्दा वर्षौँअघि नै विद्युतीय सवारीसाधनको विकास सुरु गरिसकेका थिए’, मेटलाई संकेत गर्दै पोर्साका उपप्रमुख तथा लगानी निर्देशक लुट्ज मेस्के भन्छन्, ‘हाम्रो लगानी ठीक छ भन्ने प्रमाणित भयो। कम्पनीको मूल्य हामी जोडिएयता धेरै गुणाले बढ्यो। थप भन्नुपर्दा प्रविधिको हिसाबले कम्पनीले धेरै राम्रो विकास गरेको छ।’
त्यसपछि थप दुईवटा अरु कार कम्पनी थपिए। सन् २०१९ को मेमा कोरियन उत्पादक हुन्डाई र यसैको भगिनी कम्पनी कियाले संयुक्त रुपमा ८ करोड युरो लगानी गर्ने मञ्जुरी गरे।
त्यसको लागि उनीहरुले रिम्याकको नखुलाइएको सेयर हिस्सा लिए, सँगसँगै प्राविधिक साझेदारी पनि भयो। अहिले रिम्याकले दुवै कम्पनीलाई नयाँ विद्युतीय कार बनाउन सहयोग गरिरहेको छ।
एक स्वतन्त्र अटोमोटिभ विश्लेषक म्याथियास सामिड्टका अनुसार सरकारी स्तरमै पछिल्लो समय परम्परागत पेट्रोलियम सवारीसाधन हटाउने प्रयास भइरहँदा क्रोएसियाली कम्पनीलाई ठूला अवसर पनि सिर्जना भएको छ।

‘कार कम्पनीहरु प्रभावकारी रुपले विद्युतीय कार बनाउन बाध्य भएका छन्’, उनी भन्छन्, ‘फक्सवागन र स्टेलान्टिसजस्ता ठूला एउटाले गर्नसक्छन्। तर मध्यवरीयताको कम्पनीले बाध्यतामा आफैँ यसो गर्न सक्दैनन्। जहाँकतैबाट प्रविधि किन्न उनीहरुसँग थोरै मात्र विकल्प छ।’
बर्मिङघम युनिभर्सिटीका औद्योगिक रणनीतिका प्राध्यापक डेभिड बेली कार बनाउने व्यवसाय आफैँले पनि पैसा कमाउन सकिने बताउँछन्।
मेट रिम्याक यसैको उदाहरण भएको उनको भनाइ छ।
‘उनको कम्पनी यहाँकतैबाट आएको छ, उनीहरुको उत्पादन पनि विचित्रको छ र उनीहरुले हाइपर कारको ब्रान्ड विकास गरेका छन्’, उनी भन्छन्।
उनी यही ब्रान्डको विद्युतीय सुपरकारहरु, मेसिनहरु सयौँ हजारौँ डलरमा बिक्रीवितरण गर्न सकिने उनको विश्वास छ।
‘किनकि प्रविधिको विकास तीव्र रुपमा भइरहेको छ, मलाई लाग्छ यहाँ रिम्याकका लागि खेल्ने वास्तविक ठाउँ छ’, उनी भन्छन्, ‘यसले राम्रै लाभदायक छ भन्ने प्रमाणित गर्नसक्छ।’ बीबीसीबाट अनुदित।
Shares

प्रतिक्रिया