नेपाल राष्ट्र बैंकले २०७३ सालमा ल्याएको बैंकको खुद नाफा कटौती नीति चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा मार्फत परिर्वतन गरिएको छ।
बैंक तथा वित्तिय संस्थाहरुले खुद नाफाको १ प्रतिशत निश्चित क्षेत्रमा खर्च गर्नुपर्ने व्यवस्थालाई मौद्रिक नीति समीक्षा मार्फत आफ्नै व्यापार प्रर्वद्धनमा समेत खर्च गर्न पाउने नीति लिएपछि बैंकिङ क्षेत्र उत्साहित बनेको छ।
नेपालको २७ वटा वाणिज्य बैंकहरुमध्ये प्रायः सबै बैंकहरुले वार्षिक अर्ब भन्दा बढी खुद नाफा गर्छन्। त्यो नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने बाध्यत्मक नीति सरकारले लिएको छ।
तर २०७३ सालमा लिएको त्यो नीतिलाई आइतबार भएको चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षा मार्फत बैंकलाई केही सहज बनाइएको छ। अब बैंक तथा वित्तिय संस्थाहरुले यसलाई आफ्नै व्यापार प्रर्वद्धनको लागि समेत खर्च गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो।
राष्ट्र बैंकले विद्युतीय कारोबारको प्रर्वद्धनमा बैंकहरुले गर्ने खर्च सामाजिक उत्तरदायित्वको खर्चमा गणना गर्ने समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘वित्तीय साक्षरतामा गरिने निश्चित खर्चहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गणना गर्न सकिने व्यवस्था गरिनेछ।’
चालू आर्थिक वर्षदेखि सरकारले क्यूआर कोडमार्फत गरिने डिजिटल भुक्तानी व्यवस्थाको प्रर्वद्धनमा लगेको छ।
त्यसको खर्च गर्ने व्यवस्था प्रर्वद्धनको लागि लागेको छ। त्यसको सुरुवात तरकारी बजारहरुबाट सुरु समेत भैसकको छ। साथै त्यसलाई रिजेट व्यवसायमा विस्तार गरिने योजना सरकारले बनाएको हो।
डिजिटल भुक्तानी बढाउन राष्ट्र बैंकले धेरै नीतिहरु अवलम्बन गरिरहेको र त्यस अन्तर्गत सामाजिक उतरदायित्वको खर्चलाई पनि जोडिएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बताउँछन्।
उनी भन्छन् ‘क्युआर कोडबाट भुक्तानीलाई प्रोत्साहन गर्नकै लागि विभिन्न डिजिटल भुक्तानी सेवा कम्पनीहरुलाई समेत एकरुपता ल्याउन लागिएको छ।’
एनएमबी र सानिमा बैंकद्वारा नाफालाई डिजिटल भुक्तानी प्रर्वदनमा खर्च गर्ने प्रतिवद्धता
एनएमबी बैंक र सानिमा बैंकले सामाजिक वार्षिक नाफाको १ प्रतिशत रकम मध्ये केही रकम क्यूआर कोडमार्फत गरिने डिजिटल भुक्तानीमा खर्च गरिने प्रतिवद्धता जनाइसकेको राष्ट्र बैंकका एक अधिकारीले बताएका छन्।
उनका अनुसार यो नीतिमा सबै बैंक तथा वित्तिय संस्थाहरु सकारात्मक रहेका छन्। तर पनि यी दुई बैंकले भने सामाजिक उत्तरदायित्व अन्तगर्त त्यसमा खर्च गर्ने गरि प्रतिवद्धता जनाएको ती अधिकारी बताउँछन्।

प्रतिक्रिया