आज सेयरबजारमा पुनः गिरावट आएको छ। बजार कारोबार मापन गर्ने नेप्से सूचक ९.९२ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। बजार घटेको यो साताभित्र आज समेत चौँथो दिन हो। लगातार तीन दिनसम्म घटेको सेयरबजार चौँथो दिन हरियो भए पनि साताको अन्तिम कारोबार दिन आज पुनः गिरावट आएको हो।
आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १.९६ अंकले ओर्लिएको छ। आज बजारमा १ सय ६६ कम्पनीको कारोबार भएको थियो। आज २९ हजार ४ सय ९६ पटक सेयर खरिदबिक्री भएको छ। जुन अरु दिनको तुलनामा उच्च खरिदबिक्री हो। आज १८ लाख कित्त सेयर बिक्री भएका छन् भने ४५ करोडको कारोबार भएको छ।
कुल १२ समूहको कारोबार भए पनि सबै सूचकहरु ओरालो लागेको नेप्सेले जनाएको छ। कारोबारको आधारमा आज रसुवागढी हाइड्रोपावर कम्पनीको नौ करोड ७६ लाखको सेयर प्रतिकित्ता २ सय १४ रुपैयाँमा कारोबार भएको छ। त्यस्तै सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको ५ करोड १३ लाखको सेयर प्रतिकित्ता २ सय २४ रुपैयाँमा कारोबार भएको छ। त्यसपछि धेरै कारोबार हुनेमा नेपाल बैंक लिमिटेड रहेको छ। बैंकको ३ सय २८ रुपैयाँ प्रतिकित्ता सेयर कारोबार भएको छ।
त्यसपछि एनसीसी बैंकको १ करोड ९२ लाखको र सिभिल बैंक लिमिटेड प्रोमोटर सेयरको १ करोड ७७ लाखको सेयर कारोबार भएको छ। करोडमाथि कारोबार हुने अन्तिम कम्पनीमा कृषि विकास बैंक रहेको छ। बैंकको १ करोड ४९ लाखको प्रतिकित्ता ४ सय ३१ रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ।
कमाउनेमा भने आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था अगाडि छ। यसका लगानीकर्ताको हातमा २७ रुपैयाँ प्रतिकित्ता आम्दानी परेको छ। त्यस्तै विजय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले पनि आज २४ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। समता माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले १५ रुपैयाँ कमाउँदा अन्य कम्पनीका सेयरधनीले औसत आम्दानी गरेका छन्।
गुमाउने कम्पनीमा आज रसुवागढी हाइड्रोपावर अगाडि छ। यसका लगानीकर्ताले प्रतिकित्ता ९.७० प्रतिशत अर्थात् २३ रुपैयाँ गुमाएका छन्। त्यस्तै, साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडका सेयरधनीले आज ११ रुपैयाँ गुमाएका छन्। सेयर मूल्य घटे पनि आज यिनै दुई कम्पनीको सेयर सबैभन्दा धेरै बिक्री भएका छन्।

प्रतिक्रिया