ह्विटनी वल्फले स्थापना गरेको बम्बल नामक डेटिङ एप सेयर बजारमा प्रवेश गर्नेबित्तिकै १३ अर्ब डलर मूल्यवान् बनेको छ।
वालस्ट्रिटमा बम्बल उक्त मूल्यवान् कम्पनीमात्रै बनेन, वल्फ पनि विरलै आफ्नै बलबुताले हुने अर्बपतिको सूचीमा समावेश भइन्।
बादूको समेत स्वामित्व बोकेको बम्बल सेयरबजारमा सूचीकृत हुने दुई दर्जन अमेरिकी कम्पनीमध्ये एक हो, जसका संस्थापिका महिला छन्।
बजार प्रवेशमै कम्पनीको सेयर प्रतिकित्ता ४३ अमेरिकी डलर थियो। यस हिसाबले नै कम्पनी ८ अर्ब डलरको बनेको थियो।
तर बिहीबार सुरुवाती कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता ७६ डलर पुग्यो, जसले कम्पनीको मूल्य १३ अर्ब अमेरिकी डलरको भयो।
बम्बल सन् २०१४ मा टेक्ससमा वल्फले सुरु गरेकी थिइन्। यसलाई रुसी अर्बपति आन्द्रे आन्द्रेवको सहयोग छ। आन्द्रेव बादूका संस्थापक समेत हुन्।
यो एप अन्य डेटिङ एपजस्तो होइन। यसमा केवल महिलाले मात्रै म्याच भएको पुरुषसँग फर्स्ट कन्ट्याक्ट गर्न पाउँछ। समलिंगी म्याचमा भने जुनै व्यक्तिले पनि पहिला म्यासेज गर्न पाउँछ।
वल्फले यसअघि टिन्डर नामक डेटिङ एप पनि चलाएकी थिइन् तर पछि त्यहाँ छाडेकी थिइन्।

प्रतिक्रिया