राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने गरी सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाइएको दाबी गरेका छन्।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्थानीय जनताको जीवनस्तरमा परिवर्तन हुने गरी पर्यटन प्रवद्र्धनमा जोड दिएर काठमाडौं उपत्यकाको सम्पदा पुननिर्माणका लागि आवश्यक नीतिगत योजना तय गरिएको पनि स्पष्ट पारे।
बुधबार ललितपुरको पिलाछेँमा स्थानीय जनताकै अग्रसरतामा पुनर्निर्माण भईरहेको घरहरुको अनुगमन गरेपछि उनले सबै सम्पदाहरुको पुनर्निर्माण गर्दा पर्यटन प्रवद्र्धन हुने गरी गर्ने योजना तय गरिएको बताए। उनले प्राचिन संस्कृतिहरुको संरक्षणलाई मुख्य प्राथमिकतामा राखेर सम्पदा पुनर्निर्माणका लागि आवश्यक सामग्रीको प्रयोग गर्ने कामलाई अघि बढाइएको पनि बताए।
कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुरको सम्पदा पुनर्निर्माणको सबै काममा सहकार्य गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे। उनले पाटन दरबार क्षेत्रको पुनर्निर्माणका लागि महानगरपालिकाले गरेको सहयोगको पनि स्मरण गराए। स्थानीय जनताको तहबाट हुने पुनर्निर्माणको काममा महानगरपालिकाले सक्दो सहयोग गर्ने पनि मेयर महर्जनले बताए।
पिलाछेँमा पर्यटन प्रवद्र्धन परियोजना बनाएर स्थानीयको सहभागितामा घरहरुको पुननिर्माणको कामलाई अघि बढाएको हो।

प्रतिक्रिया