कारोबार


नेपालमा स्टिल उद्योगहरु बढे, खपत बढेन

नेपालमा स्टिल उद्योगहरु बढे, खपत बढेन

वसन्त अर्याल
माघ २६, २०७७ सोमबार १२:४६,

नेपालमा खपतभन्दा दोब्बर उत्पादन क्षमताका उद्योग भए पनि आधा क्षमतामा मात्रै स्टिल उत्पादन भइरहेको छ। यसकाे मुख्य कारण भने खपत नै नहुनु हाे।

नेपाली स्टिल उद्योगहरुले उत्पादन क्षमताको ५० प्रतिशत मात्रै उत्पादन गरिरहेको सम्बन्धित उद्योगीहरुकाे भनाइ छ।

केही वर्ष अघिसम्म नेपाली उद्योगमा विद्युत् क्षमता नपुग्दा पूर्ण समय सञ्चालन समेत हुँदैनथे। तर पछिल्लो समय ठूला स्टिल उद्योग स्थापना भएका छन्। यी उद्योगले खपतभन्दा बढी उत्पादन गर्नसक्ने भए पनि खपत नहुँदा हाल आधा क्षमतामा मात्रै स्टिलजन्य सामग्री उत्पादन गरिरहेका छन्।

नेपाल स्टिल रोलिङ मिल्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष किरण साखले स्टिल उद्योगले क्षमताको आधा मात्रै उत्पादन गरेको बताए। नेपालमा उद्योगको संख्या हिसाब गर्ने हो भने २७ वटा रहेको साख बताउँछन्। उनका अनुसार भूकम्पपछि मात्रै १० वटा नयाँ उद्योग थपिएका छन्।

‘नेपाली उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्नसक्ने अवस्था नै छैन’, साखले नेपालखबरसँग भने, ‘नेपालमा वार्षिक १४/१५ लाख मेट्रिक टन स्टिल खपत हुन्छ तर उद्योगको क्षमता करिब ३० लाख रहेको छ।’

उद्योगीहरुले नेपालमा विकासले तीव्र गति लिने र सहरीकरण हुँदै जाँदा स्टिलको खपत बढ्दै जाने विश्वास गरेका थिए। तर व्यवसायीले सोचेअनुसार स्टिलको खपत बढ्नसकेको छैन। 

‘मागभन्दा उत्पादन बढी भयो भने अस्वस्थ प्रतिस्पर्धा सुरु हुन्छ। यो उद्योगीको लागि पनि राम्रो होइन। देशको लागि पनि राम्रो होइन’, साखले भने, ‘नेपाल सरकारले स्टिलको खपत बढाउने गरी नीति अवलम्बन गर्न सकेन भने लगानी जोखिम बढ्दै जान्छ।’

नेपालमा सञ्चालन हुने सबै स्टिल उद्योगले भारतबाट कच्चापदार्थ ल्याएर आवश्यकताअनुसारका डन्डी बनाउँदै आएका छन्। स्टिल उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्नको लागि खपत बढाउनुबाहेकको विकल्प नभएको व्यवसायीको भनाइ छ।

‘हामीले सबै कच्चा पदार्थ बाहिरैबाट ल्याउने हो। कच्चा पदार्थ उत्पादनमा भारत र चीन नै अघि रहेको अवस्थामा हामीले तयार गरेको डन्डी बाहिर निर्यात गर्नसक्ने अवस्था छैन’, अर्का एक स्टिल व्यवसायीले भने, ‘नेपालमा श्रमिक पनि सस्तो छैन। निर्यात गर्न सम्भव छैन। खपत यहीँ बढाउनुपर्छ।’

व्यवसायीहरु नेपालले आफ्नै फलाम खानी स्थापना गरेर पर्याप्त मात्रामा कच्चा पदार्थ निकाल्न सके मात्रै निर्यात गर्नसकिने बताउँछन्।

खर्बौैँको स्टिल तथा आइरन आयात
नेपालमा भारतमा उत्पादित डन्डीको आयात नभए पनि डन्डी बनाउने ब्लेड वर्षमा १४/१५ लाख टन भारतबाट आयात भइरहेको छ। ब्लेडलाई रोलिङ गरेर नेपाली उद्योगले डन्डी बनाउने गर्छन्।

गत आर्थिक वर्ष २०७६/०७७ मा १ खर्ब २ अर्बको स्टिल तथा आइरन आयात भएको छ भने १ अर्ब ७६ करोडको निर्यात भएको छ। आर्थिक वर्ष २०७५/०७६ मा एक खर्ब ४३ अर्ब ९८ करोडको आयात र ५ अर्ब ८१ करोडको निर्यात भएको थियो।

भारतबाट रेडिमेड स्ट्रक्चर फलाम, बेलिब्रिजलगायतको पुलमा प्रयोग हुने ठूला खालको स्टिल आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार यस्तो स्टिल वार्षिक खर्ब रुपैयाँको आयात भइरहेको छ। नेपालबाट जस्तापातालगायत भने निर्यात हुँदै आएको छ।

आर्थिक वर्ष २०७२/०७३ मा ६८ अर्ब ९३ करोडको आयात हुँदा ३ अर्बको स्टिल तथा आइरन निर्यात भएको छ।

आर्थिक वर्ष २०७३/०७४ मा ९३ अर्ब रुपैयाँको आयात भएको छ भने ३ अर्ब ९४ करोडको निर्यात भएको छ। २०७४/०७५ मा १ खर्ब २५ अर्बको आयात हुँदा ५ अर्ब १६ करोडको निर्यात भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad