गत वर्ष न्यून मूल्यमा ऐतिहासिक कीर्तिमान कायम गरेको अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य कोरोना महामारीअघिकै अवस्थामा फर्किएको छ।
कोरोनाको खोप सुरु हुँदा अर्थतन्त्र पनि पुरानै अवस्थामा आउनसक्ने आशाका बीच कच्चा तेलको मूल्य बढेको हो। यद्यपि माग भने सामान्य अवस्थाको तुलनामा अझै कमै छ।
कच्चा तेलको मूल्यलाई आर्थिक क्रियाकलाप मापन गर्ने ब्यारोमिटरको रुपमा पनि हेर्ने गरिन्छ। यसलाई ‘कालो सुन’ समेत भनिन्छ।
अहिले कच्चा तेल केही महिनाअघिको तुलनामा ५० प्रतिशतले बढेर प्रतिब्यारेल ६० अमेरिकी डलर पुगेको छ।
ऊर्जा बजारको मुख्य बेन्चमार्क ब्रेन्ट क्रुड केही समययता बढिरहेको छ। नोभेम्बरयता तेलको पछि डेलिभरी हुने गरी गरिने सम्झौता (फ्युचर कन्ट्राक्ट) पनि ५९ प्रतिशतले चढेको छ।
यता अमेरिकी कच्चा तेल वेस्ट टेक्सस इन्टरमेडिएट (डब्लुटीआई) गत हप्ता ५५ अमेरिकी डलर प्रतिब्यारेलसम्म पुगेको थियो जुन १ वर्षयताकै उच्च विन्दु हो।
अहिले कच्चा तेलको माग विश्वभर नै बढिरहेको छ। खासगरी एसियामा यसको माग बढेको बीबीसीले जनाएको छ।
तेलको मूल्य बढ्नुमा पेट्रोलियम निर्यातक देशहरुको संगठन (ओपेक)ले चालेको उत्पादन कटौतीको कदमलाई पनि कारण मानिएको छ।
गत अप्रिलमा उत्पादन कटौतीको सहमति भएको थियो। कोरोना महामारीले तेलसम्बन्धी उद्योगहरुलाई नराम्ररी असर गरेको छ। सोही कारण गत वर्ष कच्चा तेलको मूल्य शून्यभन्दा पनि तल झरेको थियो।
यस्तै एयरलाइन्स कम्पनीहरुले पनि यात्रामा प्रतिबन्ध लगाएसँगै कच्चा तेलको माग गर्नै छोडेका थिए।

प्रतिक्रिया