कारोबार


स्पेस एक्सको सिंगै उडान खरिद गरेर अन्तरिक्ष यात्रा गर्दै यी अमेरिकी अर्बपति

स्पेस एक्सको सिंगै उडान खरिद गरेर अन्तरिक्ष यात्रा गर्दै यी अमेरिकी अर्बपति

नेपालखबर
माघ २०, २०७७ मंगलबार १२:१५,

एक अमेरिकी अर्बपतिले आफूले प्रविधि र फाइटर जेटको व्यवसायबाट गरेको आम्दानीले स्पेस एक्सको सिंगै उडान खरिद गर्दै छन्।

अर्बपति जारेद आइज्याकमानले यही वर्ष अन्य तीन साधारण मान्छेसहित पृथ्वीको परिक्रमा गर्नलागेका हुन्।

अन्तरिक्षमा उड्ने आफ्नो सपनासँगै उनले सेन्ट ज्युड चिल्ड्रेन रिसर्च हस्पिटलका लागि यही अन्तरिक्ष यात्रामार्फत २० करोड डलर उठाउने सोमबार घोषणा गरेका हुन्। प्रस्तावित रकममध्ये आधा उनी आफैँले उपलब्ध गराउनेछन्।

उक्त यात्रामा एक जना महिला स्वास्थ्य स्वयंसेविका छानिइसकेकी छिन्। अन्तरिक्ष घुम्ने चारमध्ये तेस्रो सिटका लागि उक्त हस्पिटललाई रकम दान गर्नेमध्ये चिठाबाट एक जना भाग्यशाली छनोट हुने बताइएको छ।

त्यस्तै चौथो सिटका लागि भने पेनसिल्भेनियास्थित एलेनटाउनमा रहेको आइज्याकम्यानको क्रेडिट कार्ड प्रोसेसिङ कम्पनी शिफट४ पेमेन्टका व्यवसायी हुने बताइएको छ।

jared isaacman2

‘म साँच्चै अबकाे ५० वा सय वर्षकाे त्यस्ताे संसारमा बाँच्न चाहन्छु, जहाँ मानिसहरु जेटसनजस्तै आफ्नो रकेटमा उफ्रिरहेका छन्, चन्द्रमामा परिवारहरु स्पेससुटमा आफ्ना बच्चाहरुसँगै उछलिइरहेका छन्’, अर्को हप्ता ३८ वर्ष पुग्नलागेका आईज्याकम्यान भन्छन्, ‘म यो पनि सोच्छु कि यदि हामी त्यो संसारमा जाँदै छौँ भने यसैमार्फत बच्चाबेलाको क्यान्सरमाथि पनि विजय पाउनेछौँ।’

उनले अन्तरिक्ष यात्राको मिसनलाई चर्चामा ल्याउन सुपर बल विज्ञापन खरिद गरेका छन्, इन्स्पिरेसन४ दोब्बर पारेका छन्। उनको यात्रा सपना फ्लोरिडाबाट अक्टोबरमा रकेट प्रक्षेपण भएसँगै पूरा हुनेछ।

स्पेस एक्स ड्रागन क्याप्सुलबाट हुने उक्त यात्रामा सहभागी अरुबारे आइज्याकम्यान सामान्य जीवनशैलीका मानिसको विविध समूह भन्न रुचाउँछन्। जोबारे अर्को महिना खुलासा हुनेछ।

स्पेस एक्सका संस्थापक तथा प्रमुख कार्यकारी एलन मस्क उक्त उडान दुईदेखि चार दिनसम्मको हुने अनुमान गर्छन्। आइज्याकम्यानको यात्रा निजी अन्तरिक्ष यात्राको पछिल्लो सम्झौता हो र यो अर्बिटल ट्रिपको पहिलो हो।

सोमबार स्पेस एक्सको क्यालिफोर्नियास्थित हथोर्नमा रहेको मुख्यालयमा पत्रकार सम्मेलनमा मस्कले भने, ‘अन्तरिक्षमा सबै व्यक्तिको पहुँच पुर्याउने भएकाले यो कोशेढुंगा हो।’ महंगो यात्राबारे उनले सुरुवाती चरणका यी उडानले आगामी दिनमा खर्च कम हुँदै जाने उनको भनाइ छ।

गत हप्ता हस्टनको एक कम्पनीले तीन व्यवसायीले प्रतिव्यक्ति साढे ५ करोड अमेरिकी डलर खर्च गरेर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा आगामी जनवरीमा जानलागेको खुलासा गरेको थियो।

उनीहरु पनि स्पेस एक्सकै ड्रागनमा अन्तरिक्ष स्टेसन पुग्नेछन्। यसबाहेक एक जापानी व्यवसायीले पनि यसअघि नै चन्द्रमामा जान स्पेस एक्ससँग सम्झौता गरिसकेका छन्।

विगतमा रुसनिर्मित रकेटमार्फत स्पेस स्टेसन पुग्नुपर्ने बाध्यता थियो। तर स्पेस एक्सको आगमनसँगै त्यो बाध्यता पनि अन्त्य भएको छ।

आइज्याकम्यानले स्पेस एक्सलाई कति तिर्दै छन् भन्ने खुलाउनेछैनन्। तर हस्पिटलको अनुमानित दानभन्दा मिसनको खर्च धेरै हुने उनको भनाइ छ।

नासाका पूर्वअन्तरिक्षयात्रीले तीन जना व्यवसायीसँगै यात्रा गर्दा आइज्याकम्यान भने स्पेस एक्स क्राफ्टको आफैँ कमान्डर हुनेछन्।

उनले स्पेस एक्सको ड्रागन र फाल्कन ९ रकेटबारे अहिले सिकिरहेका छन्। क्याप्सुलहरु स्वचालित उडान भर्न सक्ने गरी डिजाइन गरिए पनि आकस्मिक अवस्थामा पाइलटले त्यो सिस्टमलाई नियन्त्रणमा लिनसक्नेछ।

jared isaacman3

अन्तरिक्ष यात्रामा निस्किनलागेका आइज्याकम्यानले १६ वर्षमै स्कुल छोडेका थिए। स्कुलको पढाइभन्दा उनले जनरल एजुकेसन डेभलपमेन्ट (जीईडी)को सर्टिफिकेट लिएर पारिवारिक व्यवसायको पृष्ठभूमिमा व्यवसाय सुरु गरे। जुन शिफ्ट४ को उत्पत्तिको आधार भयो।

उनले सन् २००९ मा विश्वमा द्रुतगतिमा उडेर कीर्तिमान बनाएका थिए। त्यतिबेला पनि 'मेक अ विस प्रोग्राम'को लागि रकम संकलन गरेका थिए। पछि ड्रेकन इन्टरनेशनलको स्थापना गरे। जुन निजी क्षेत्रको विश्वकै ठूलो फाइटर जेट सम्झौतामा उपलब्ध गराउने कम्पनी हो। यसले सैन्य र रक्षासम्बन्धी ग्राहकलाई यस्तो सुविधा दिन्छ।

सेन्ट ज्युडमा आइज्याकम्यानले १० करोड डलरको प्रतिबद्धता जनाएका छन्। जुन व्यक्तिगत सहयोगको अहिलेसम्मकै ठूलो योगदान हुनेछ।

स्पेस एक्सको ट्रेनिङसँगै आइज्याकम्यान आफ्ना क्रु सदस्यलाई पर्वतारोहणमा लैजान चाहन्छन्। जसलाई उनी सबैभन्दा आनन्द नआउने अनुभव भन्छन्। त्यो पनि जाडोको खराब स्थितिमा पर्वतको छेउतिर पाल ओढेर बस्ने।

‘हामी सबै एक अर्काबारे जान्दै छौँ, साँच्चै रकेट प्रक्षेपणअघि’, उनले भने। उनी सोचेअनुसार सफलता पाउन सबै कुरा आवश्यक पर्नेबारे सचेत छन्।

‘केही कुरा गलत भए यसले हरेक व्यक्तिको व्यावसायिक अन्तरिक्ष यात्री बन्ने महत्वाकांक्षालाई धक्का पुग्नेछ’, पेन्सिल्भेनियाको इस्टनस्थित आफ्नै घरमा आइज्याकम्यानले भने।

स्पेस एक्स स्पष्टसँग व्यावसायिक अन्तरिक्ष उडानको बलियो नेतृत्वकर्ता भएकाले उसैसँग उडानको सम्झौता गरेको उनको भनाइ छ। यसअघि उसले दुईवटा अन्तरिक्ष यात्रीको उडान पूरा गरिसकेको छ।

jared isaacman ap pic

बोइङले अझै नासाका अन्तरिक्ष यात्रीलाई स्पेस स्टेसन पुर्याउनै बाँकी छ। त्यस्तै रिचार्ड ब्रान्सनको भर्जिन गालाक्टिक र जेफ बेजोसको ब्लु ओरिजिनले यही वर्षको अन्त्यतिर ग्राहकलाई उडाउन सुरु गर्ने अपेक्षा गरेको छ। यी कम्पनीले केवल स्पेससम्म सामान्य उडान गर्नेछन्।

वर्षौँदेखि आइज्याकम्यानले अन्तरिक्ष यात्रा अनुभवका लागि उत्कट रूचि देखाएका छन्। सन् २००८ मा रुसेली सोयुजको प्रक्षेपण हेर्न उनी पर्यटकसहित काजकस्तान पुगेका थिए। त्यसको केही वर्षपछि नासाको अन्तिम स्पेस शटल प्रक्षेपणमा उपस्थित भए। स्पेस एक्सले त कम्पनीको नोभेम्बरमा नासाका लागि दोस्रो अन्तरिक्ष यात्रीसहितको प्रक्षेपणमा निम्तो नै दिएको थियो।

आइज्याकम्यान र उनकी श्रीमती मोनिकाले अन्तरिक्ष यात्राबारे बाहिर सार्वजनिक गरेका थिएनन्। उनीहरुका ७ वर्षीय र ४ वर्षीय छोरीले थाहा पाएपछि यसबारे बाहिर सार्वजनिक भएको थियो।

उनका छोरीहरुले विद्यालयमा यो कुरा गरेपछि शिक्षकले मोनिकालाई यसबारे सोधेका थिए तर उनले होइन भनेर टारेको आइज्याकम्यान बताउँछन्। एपीबाट अनुवाद। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad