बुद्ध जन्मस्थल लुम्बिनीमा रहेका सिमसार क्षेत्रभित्रका विभिन्न ७ तलाउलाई प्रकृति संरक्षणकर्मीहरुका नाममा नामकरण गरिएको छ।
मंगलबार विश्व सिमसार दिवस–२०२१ को अवसरमा ती क्षेत्रलाई संरक्षणकर्मीको नाममा नामकरण गरिएको हो।
सिमसार क्षेत्रमा रहेका ७ तलाउलाई प्रकृतिविद् स्वर्गीय हर्क गुरुङ, डा. चन्द्र गुरुङ, डा. मिंग्मा नर्बु शेर्पा, हरिशरण नेपाली ‘काजी’, डा. तीर्थमान मास्के, डा. जर्ज अर्चिबल्ड र डा. घन गुरुङ सिमसार भनेर नामकरण गरिएको कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले जानकारी दिए।
डा. घनश्याम गुरुङ हाल विश्व वन्यजन्तु कोष नेपालको निर्देशक छन्। हर्क, चन्द्र, तीर्थ, नर्बु, हरिशरण र जर्ज अर्चिबल्डको १४ वर्ष अघि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परि निधन भएको थियो। सिमसार क्षेत्रको संरक्षणमा उनीहरुले पुर्याएको योगदानलाई सम्झीरहन तलाउलाई उनीहरुको नामबाट नामकरण गरिएको उपाध्यक्ष त्रिपाठीले बताए।
सिमसार दिवसका अवसरमा लुम्बिनीमा भएको कार्यक्रममा कोषका उपाध्यक्ष त्रिपाठीले पानी, सिमसार र जीवनबीचको सम्बन्धको बारेमा प्रकाश पार्दै प्रकृति संरक्षणको क्षेत्रका विद्वानहरुको स्मृतिमा ७ वटा सिमसारको नामकरण गरेको घोषणा गरे।
‘पानी, सिमसार र जीवन’ भन्ने मूल नाराका साथ यस वर्ष सिमसार दिवस मनाइएको हो। लुम्बिनीमा रहेका सिमसार क्षेत्रमा नेपालीसहित विदेशी चराहरु पनि रमाउने गरेका छन्। यसले लुम्बिनीको सुन्दरतालाई थप रमणीय बनाउने गरेको छ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा बातवरण मन्त्री लिला गिरीले प्रकृति संरक्षणका लागि प्रदेश सरकारले योजनाबद्धरुपमा काम गरेको जनाए। ‘प्रकृति संरक्षण र जैविक विविधता कायम राख्न काम गरिरहेका छौं’, उनले भने।
विकास कोषले सिमसार क्षेत्र र सारस संरक्षणमा गरेको काम निकै सहारनीय भएको जनाए। उनले प्रकृति संरक्षणमा जीवन पर्यन्त योगदान दिएकाहरुको स्मृतिमा सिमसारको नामाकरण गरिनु राम्रो सन्देश भएको बताए।
विश्व बन्यजन्तु कोषका नेपाल निर्देशक डा. घनश्याम गुरुङले सिमसार र प्रकृति संरक्षणका लागि अग्रजहरुको सम्मानमा सिमसारको नामाकरण गरिनु उनीहरुको सम्मान मात्रै नभएर योगदान कदर पनि भएको बताए।
कार्यक्रममा प्रकृति संरक्षणमा संचारमाध्ययमका तर्फबट योगदान पुर्याएकामा भैरहवाका अग्रज पत्रकार चेतन पन्तलाई सम्मान समेत गरिएको थियो।
Shares

प्रतिक्रिया