कारोबार


चाैबीसै घण्टा चलाउने भनिएकाे त्रिभुवन विमानस्थल १८ घण्टामा झार्ने तयारी, चार कम्पनीको असहमति

चाैबीसै घण्टा चलाउने भनिएकाे त्रिभुवन विमानस्थल १८ घण्टामा झार्ने तयारी, चार कम्पनीको असहमति

वसन्त अर्याल
माघ २०, २०७७ मंगलबार ११:५४,

बजेटमा चौबीसै घण्टा सञ्चालन गर्ने भनिएको त्रिभुवन विमानस्थल फेरि १८ घण्टामा झार्ने तयारी भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक व्ययभार बढेको भन्दै १८ घण्टामात्र सञ्चालन गर्ने तयारी गरेको हो।

२०७५ जेठमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विमानस्थल सञ्चालन १८ घण्टाबाट बढाएर २१ घण्टा पुर्याएका थिए।

मन्त्री अधिकारीले हवाइ चापलाई व्यवस्थित गर्न विमानस्थल सञ्चालनको समय दैनिक १८ घण्टाबाट २१ घण्टा पुर्याएको दाबी गरेका थिए।

सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र बजेटमा त्रिभुवन विमानस्थललाई चौबीसै घण्टा सञ्चालन गर्ने उल्लेख गरेको थियो। तर प्राधिकरणले हाल कोभिड १९ को कारण आर्थिक भार बढ्दै गएको भन्दै विमानस्थल सञ्चालन १८ घण्टामा झार्ने विषयमा छलफल गरिरहेको छ।

‘कोभिड १९को कारणले प्राधिकरणको राजस्व धेरै घटेको छ’, प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले भने, ‘अहिले उडानको चाप पनि कम भइरहेकाले २१ घण्टाबाट १८ मा झार्ने विषयमा छलफल भइरहेको हो।’

नेपालको एक मात्रै अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अत्यधिक चापको कारण लामो समय जहाज आकाशमै ‘होल्ड’ गर्नुपर्ने अवस्था थियो। विमानस्थलको सञ्चालन अवधि १८ घण्टाबाट बढाएर २१ घण्टा पुर्याएलगत्तै एयर ट्राफिक जाममा कमी आउने विश्वास गरेको थियो।

बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थलको एयर ट्राफिक जाम कम गर्न बिहान ३ बजेसम्म सञ्चालन गरिएको थियो ।

विमानस्थलको सञ्चालन अवधि बढाउँदा कर्मचारीले विरोध जनाएपछि तत्कालीन मन्त्री अधिकारीले सेवा सुविधा थप गर्ने भनेपछि कर्मचारी समेत रातिको समयमा काम गर्न तयार भएका थिए।

त्योबाहेक एयरलाइन्स कम्पनीहरुले समेत रातिको समयमा उडान गर्न आनाकानी गर्दा मन्त्रालय र प्राधिकरणको आग्रहमा उडान गर्न तयार भएका थिए।

एयरलाइन्सहरुको असहमति
सरकारको आग्रहमा राति उडान गर्न तयार भएका एयरलाइन्सले फेरि विमानस्थल सञ्चालनको समयावधि घटाउने विषयमा असहमति जनाएका छन्।

एयरलाइन्स कम्पनीले त्रिभुवन विमानस्थल सञ्चालनको अवधि घटाउँदा आफूहरुको समयतालिका नमिल्ने भन्दै विरोध जनाएका हुन्।

राति १२ बजेपछि उडान गरिरहेको नेपाल वायुसेवा निगमले (नेपाल एयरलाइन्स) विमानस्थल सञ्चालन अवधि घटाउँदा आफूहरुलाई समस्या पर्ने बताएको छ।

‘अहिले चाप हुँदा रातिको उडान कटौती गर्ने, फेरि चाप हुँदा बढाउनुपर्ने हुन्छ’, निगमका एक उच्च अधिकारीले नेपालखबरसँग भने, ‘यो त गर्नै हुँदैन।’

नेपाल वायुसेवा निगमले राति काठमाडौं जापान उडान भर्दै आएको छ। २०७६ मा त्रिभुवन विमानस्थलको जीर्णोद्धारको समयमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म विमानस्थल बन्द हुँदा पनि काम रोकेर वायुसेवा निगमले राति २ बजे ओसाका उडान गरेको थियो।

हाल जापानको नारिता उडान गर्दै आएको निगमले त्यहाँको विमानस्थलसँग छलफल गरेपछि मात्रै प्राधिकरणले निर्णय गर्नुपर्ने बताएको छ। सुरुमा नारिता उडान अनुमति नपाएको निगमले ओशाका उडान गरेको थियो।

‘अहिले जापानले दिएको स्लटबाहेक अरु समय मिल्छ कि मिल्दैन सबै कुरा बुझेर मात्रै यस्तो निर्णय गर्नुपर्छ’, उनले भने, ‘नभए फेरि जापान उडान गर्नको लागि समस्या हुन्छ।’

कोभिड १९ अघि नारितामा हप्ताको तीन उडान गर्दै आएको निगमले अहिले एक उडान मात्रै गर्दै आएको छ।

‘कोभिडपछि पनि हप्ताको २ उडान हुँदै आएको थियो। पछि फेरि नयाँ संक्रमित भेटिएसँगै यात्रुको चाप नहुँदा एउटा उडान गर्दै आएका छौं’, निगमका ती अधिकारीले भने।

नेपाल एयरलाइन्सबाहेक राति १२ बजेपछि कतार एयरवेज, जजिरा एयरवेज र एयर अरेबियाले उडान गरिरहेका छन्। यी सबै सञ्चालन समय घटाउन नहुने पक्षमा छन्। 

‘हामीले राति १२ बजेपछि बिहान ३ बजेसम्म बन्द गर्ने कि भनेर छलफल गरिरहँदा ४ एयरलायन्सले असहमति जनाएका छन्’, प्राधिकरणका क्षेत्रीले भने, ‘सबैसँग छलफल गरेरै निर्णय गर्छौँ।’

उनले एयरलाइन्सहरुलाई आग्रह गरेर रातिको समयमा उडान गर्न सहमत गराएकाले अब के गर्ने भन्ने विषयमा एयरलायन्स कम्पनीकै सहमतिमा हुने बताए।

गत वर्ष यही समयमा त्रिभुवन विमानस्थलमा अहिले दैनिक ८० देखि ९० उडान हुँदै आएका थिए। कोभिड १९ महामारीको कारण दैनिक १२ देखि १५ वटासम्म उडान मात्रै भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad