ad ad

कारोबार


हिमालय र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य

हिमालय र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य

नेपालखबर
माघ १५, २०७७ बिहिबार ५:१५,

हिमालय एयरलाइन्स र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ।

उक्त प्रयोजनका निम्ति दुवै एयरलाइन्सले एकापसमा रणनीतिक व्यापार साझेदारी गरेका छन्। हिमालय र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्स कार्य क्षमतामा क्रमिक विस्तारको लागि साझेदारी गरेका हुन्।

एप्लिकेसन प्रोगामिङ इन्टरफेस (एपीआई) को प्रभावकारी कार्यान्वयनका लागि पहिलो सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ र यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमालले हस्ताक्षर गरेको यती एयरलाइन्सले जनाएको छ।

नेपाल र चीनको संयुक्त लगानी रहेको निजी क्षेत्रको हिमालय एयरलाइन्सले हाल मध्यपूर्वी एशिया र दक्षिण एशियाका विभिन्न गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको छ भने निजी लगानीको यती एयरलाइन्सले नेपालभर सञ्जाल विस्तार गरी विभिन्न आन्तरिक गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

सम्झौताअनुसार दुवै एयरलाइन्सले आ–आफ्नो टिकट जारी गर्ने, नयाँ सेवालाई समावेश गर्ने, यात्रुलाई टिकट खरिदमा सरलीकृत बनाउनुका साथै आफ्ना सेवा एकअर्काको वेबसाइटमा सहज किसिमले उपलब्ध गराउने कम्पनीहरूले जनाएका छन्। यद्यपि यसमा आवश्यक प्राविधिक प्रक्रिया पूरा गर्न बाँकी रहेकोले कार्यान्वयनमा आउन केही समय लाग्नेछ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले दुई एयरलाइन्सबीचको सहकार्य हिमालय र यतीबीच रणनीतिक व्यापारिक साझेदारीको दिशामा पहिलो चरण भएको बताए।

‘व्यवसाय विस्तारका लागि नयाँ मार्गहरू खोज्न, व्यवसायलाई बढाउन हाम्रो यो साझेदारी महत्वपूर्ण हुनेछ’, उनले भने।

यती एयलाइन्सका सीईओ रिमालले हिमालय एयरलाइन्सलाई साझेदारका रूपमा पाउँदा आफूहरूलाई खुशी र उत्साहित बनाएको बताए। उक्त सहकार्यले व्यावसायिक समुदायलाई सकारात्मक सन्देश दिएको उनको भनाइ थियो। सीईओ रिमालले भने, “हाम्रो समझदारीले दुवै एअरलाइन्सका यात्रुले थप लाभ प्राप्त गर्न सक्नेछन्, सञ्जाल विस्तारका लागि हिमालयसँग सहकार्य गर्ने अवसर पाउँदा हामी खुशी छौँ ।”

दुवै एयरलाइन्सले व्यवसायका लागि नयाँ स्रोत ल्याउन, यात्रुका बीच भरोसा बढाउन र व्यापारिक दक्षता बढाउने कार्य गर्न महत्वपूर्ण क्षमता राख्दछ। साझेदारीले सम्भावित यात्रुका लागि नवीन विचारहरू अन्वेषण गर्ने, ग्रहण गर्ने र प्रचार गर्ने जनाइएको छ। दुवै एयरलाइन्सका वेबसाइटका माध्यमबाट यात्रुले यती एयरलाइन्स, तारा एयर र हिमालय एयरलाइन्सले उडान भर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा चाहेअनुसारको उडान सेवा छनोट गरी फाइदा लिन सक्नेछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .