नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघईको अध्यक्षतामा महासंघको रोजगारदाता परिषद् गठन भएको भइसकेको छ।
महासंघले नयाँ नेतृत्व पाएपछि यही माघ ४ गते परिषद् गठन गरेको थियो। यो समितिले अब नयाँ ढंगले काम गर्ने योजना समेत बनाएको छ। समितिका अध्यक्ष संघईका अनुसार पहिलो चरणमा रोजगारको क्षेत्रमा के कस्ता समस्याहरु देखा परेका छन्, त्यसको अध्ययन हुनेछ।
उनले भने, ‘सुरुमा समस्याबारे अध्ययन हुनपर्ने नै हो, त्यसको काम हामी अहिले गरिरहेका छन्। श्रमिक अगुवा, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) लगायतसँग हामीले छलफल नै गरिसकेका छौँ।’
श्रमिकहरुले पाउनुपर्ने न्यूनतम सेवा सुविधाको बारेमा छलफल हुनेछ। श्रमिक अगुवाहरुले उनीहरुको नेतृत्व गर्दा पनि केही कमी कमजोरी रहेको छ भने पनि त्यसको निचोड निकाले समाधानको लागि प्रयास गरिने समितिको योजना रहेको छ।
दोस्रो चरणमा नेपालमा कति श्रमिकहरु बेरोजगार रहेका छन्, तिनीहरुको एकीन गरी कसरी काममा लगाउन सकिन्छ भन्ने अध्ययन गरिनेछ। तेस्रो चरणमा बेरोजगार देखिएकालाई सीप प्रदान गरेर रोजगारीमा लगाउने काम गर्ने योजना रहेको अध्यक्ष संघईको भनाइ छ।
संघई भन्छन्, ‘अहिले कुनै पनि व्यक्तिलाई काम दिनभन्दा पनि उद्यमशील बनाएर बेरोजगार हटाउन सबैभन्दा उपयुक्त हुन्छ, त्यसले देशलाई पनि धेरै फाइदा दिनसक्छ। समितिले त्यतातर्फ पनि केन्द्रित रहेर काम गर्नेछ।’
समितिको उपसभापतिमा महासंघको कार्यकारिणी समितिका सदस्य प्रबलजंग पाण्डे रहेका छन्।
परिषद्का सदस्यहरूमा एसोसिएट समूहबाट महासंघको कार्यकारिणी समिति सदस्य कृष्णलाल महर्जन, महासंघको पूर्वकार्यकारिणी समिति सदस्यहरू विनोद ढकाल, विराट थापा, नेपाल जुट उद्योग संघका राजकुमार गोल्छा र प्रतिनिधि डावर नेपाल रहेको छ।
त्यसैगरी वस्तुगत संघ समूहबाट परिषद्को सदस्यहरूमा महासंघको कार्यकारिणी समिति सदस्य अरनिको राजभण्डारी, नेपाल तयारी पोशाक संघका इमानसिंह लामा, जिल्ला नगर समूहबाट सदस्यहरूमा उद्योग संगठन मोरङका राकेश सुराना, प्रतिनिधि वीरगन्ज उवासंघ, प्रतिनिधि सिद्धार्थनगर उवासंघ रहेको छ भने प्रदेश समूहबाट परिषदको सदस्यहरूमा प्रदेश १ बाट महासंघको कार्यकारिणी समिति सदस्य राजेन्द्र राउत, वाग्मती प्रदेशबाट महासंघको कार्यकारिणी समिति सदस्य दिलसुन्दर श्रेष्ठ, गण्डकी प्रदेशबाट लक्ष्मी प्रसाद त्रिपाठी, लुम्बिनी प्रदेशबाट दिपक पौडेल समावेश छन्।
परिषद्ले मूलतः असल श्रम सम्बन्धको प्रवद्र्धन गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनसम्बन्धी, अन्तर्राष्ट्रिय क्षेत्रीय विदेशी रोजगारदाताहरुको संघ संस्थासँग आवश्यक सम्बन्ध स्थापित गर्ने र सोसँग सम्बन्धित काम गर्ने, श्रम समस्या निराकरण गर्न प्रयत्न गर्ने र त्यस्ता समस्याको समाधानको लागि नेपाल सरकारमा सुझाव प्रस्तुत गर्ने लगायतका काम गर्नेछ।
Shares

प्रतिक्रिया