कारोबार


यातायातको सिन्डिकेट तोडेको मयुरले उपत्यकामा गुडाउँदै छ १०० वटा बस

यातायातको सिन्डिकेट तोडेको मयुरले उपत्यकामा गुडाउँदै छ १०० वटा बस

वसन्त अर्याल
माघ १२, २०७७ सोमबार १२:३२,

२०७४ फागुनमा झण्डै दुई तिहाइ मतसहित बनेको केपी शर्मा ओलीको नेतृत्वको सरकारसँग काठमाडौंमा यात्रा गर्ने सर्वसाधारणको धेरै आशा थियो।

सरकारले पनि ‘समृद्ध नेपाल सुखी नेपाली’ नारासहित जनतालाई आश्वस्त पार्न खोजिरहेको थियो– सडक राम्रो होस्, सार्वजनिक गाडीमा आरामसँग यात्रा गर्न पाइयोस्!

त्यतिबेला काठमाडौंको सार्वजनिक यातायातमा साना गाडी धेरै थिए। कुनै ठाउँमा जानुपरे बस्ने सिट भाग्यले पाइन्थ्यो, उभिएर यात्रा गर्न समेत मुस्किल थियो।

कुनै पनि रुटमा बस राख्न सरकारले अनुमति दिएर मात्रै पुग्दैनथ्यो, यातायात समितिलाई लाखौँ पैसा बुझाउनुपथ्र्यो।

यातायात समितिलाई पैसा नबुझाउने गाडीमा तोडफोड हुन्थ्यो। व्यवसायीहरुको दादागिरी उच्च विन्दुमा पुगेको थियो।

काठमाडौं उपत्यकामा सीमित कम्पनीले मात्रै दर्ता भई सार्वजनिक यातायात सञ्चालन गरेका थिए। सिटी मेट्रो, बाबा गोकर्णेश्वर, अन्नपूर्ण, ओरेन्ज, महानगरलगायतका केही कम्पनी सञ्चालनमा थिए।

mayur yatayat 23

त्यसमध्ये एक थियो– मयुर यातायात प्रालि।

मयुर यातायातले २०७४ चैत १ देखि काठमाडौं–बनेपासम्म सञ्चालन गर्ने गरी २४ वटा नयाँ बस सञ्चालनमा ल्याएको थियो। कम्पनीले काठमाडौं–बनेपा बस सञ्चालनसँगै भक्तपुर, काभ्रेमा बस सञ्चालन गर्ने व्यवसायी विरोधमै उत्रिए। कम्पनी मोडलमा दर्ता भएको मयुरले कुनै समितिमा दर्ता नभई चलाएको भन्दै बसमाथि ढुंगामुढा समेत हानियो।

मयुर यातायात प्रालिलाई काठमाडौं–बनेपाको रुट परमिट दिएसँगै नेपाल यातायात व्यवसायी महासंघसम्बद्ध १३ वटा समिति आन्दोलनमा उत्रिएका थिए। उनीहरुले विरोधस्वरुप काभ्रे भक्तपुरका सबै ग्रामीण क्षेत्रमा सवारीसाधन चलाउन छाडेका थिए।

व्यवसायीले कोटेश्वर, भक्तपुरमा चक्काजाम नै गरे। काठमाडौं–बनेपा बस सञ्चालन गर्ने व्यवसायीहरुले कुनै बस सञ्चालन नगर्ने घोषणा गरेका थिए। यसका बाबजुद मयुरले व्यवसायीको ‘सिन्डिकेट’ले हैरान सर्वसाधारणको साथ पायो। सरकारले पनि बस सुरक्षामा प्रहरी नै खटाइदियो। कम्पनी मोडलमा चलेका सबै कम्पनीले सार्वजनिक बस उक्त रुटमा बस सञ्चालन गरे।

सरकारले सघाएपछि सिन्डिकेट तोड्न बन्दको समयमा पनि मयुरले बस सञ्चालन ग¥यो। व्यवसायीको बन्दपछि सरकार आक्रामक भएको थियो। उसले बनेपाको लागि नयाँ रुट खोलेको थियो। नयाँ रुट खोलेसँगै साझा यातायात समेत बनेपा पुग्यो।

त्यसपछि सरकारलाई यातायातकै सिन्डिकेट तोड्न दबाब बढ्यो। अन्ततः जनदबाबपछि सरकारले समिति खारेज गर्दै सबै बस कम्पनीमा जानुपर्ने कानुन नै बनायो र सिन्डिकेट तोडियो। यातायातको सिन्डिकेट तोडिनुमा मयुर यातायातले मुख्य भूमिका खेलेको थियो।

कलाकार बाल कुमार श्रेष्ठले त त्यतिखेरै गीत बनाए-
सिन्डिकेटको कुसंस्कारलाई तोड्यौँ हजुर हामीले!
सब यातायात व्यवसायलाई जोड्यौँ हजुर हामीले!!
आयो आयो मयुर यातायात आयो!
बच्चादेखि बाबुसम्म, सहरदेखि गाउँसम्म देशैभरी छायो!!

शब्द तथा स्वर आफ्नै रहेको गीत श्रेष्ठले २०७५ वैशाखमा सार्वजनिक गरेका थिए। मयुर यातायात सञ्चालन गर्दा वृद्धवृद्धा, अपांग र बालबालिकालाई निःशुल्क यात्रा गराउँदै आएको थियो। जसले समर्थनसहित चर्चा कमाएको थियो। त्यसकै उदाहरण हो यो गीत।

mayur yatayat 27

उपत्यकाका सडकमा मयुरका १०० बस
काठमाडौं उपत्यकामा हाल ४५ वटा बस सञ्चालन गरिरहेको मयुर यातायातले फेरि ५५ वटा बस थपेर १०० वटा बस सञ्चालन गर्नलागेको छ।

‘माघबाट काठमाडौं उपत्यकामा मयुरका १०० वटा बस सञ्चालन हुँदै छन्’, मयुर यातायातका अध्यक्ष मोहन श्रेष्ठले नेपालखबरसँग भने, ‘भारतको टाटा कम्पनीबाट ५५ वटा बस अर्डर गरेका थियौँ। ती सबै आइसकेका छन्। काठमाडौं उपत्यकामा माघ महिनाभित्र १०० वटा बस एकसाथ गुड्छन्।’

श्रेष्ठले अब नेपालमा पुरानै ढर्रामा सार्वजनिक यातायात चलाउनु आम जनतामाथिको बेइमानी र अपराधमात्रै हुने बताए। यी बसहरु नागढुङ्गाबाट थानकोट–कलंकी–कालीमाटी–रत्नपार्क–माइतीघर–बबरमहल–बानेश्वर–कोटेश्वर हुँदै पनौतीसम्म सञ्चलान हुने उनको भनाइ छ।

उनले यो रुटमा बसको संख्या कम भएको भन्दै यात्रुको सुविधाको लागि बस थप गर्नलागेको बताए। अहिले पनि थानकोट रत्नपार्कमा फोर्सका साना गाडी सञ्चालनमा छन्। बिहान साँझ उभिएर यात्रा गर्न समेत अप्ठ्यारो छ।

‘नयाँ मयुरका बस कसरी सञ्चालन गर्ने भन्ने विषयमा योजना बनाउँदै छौं’, श्रेष्ठले नेपालखबरसँग भने, ‘छिट्टै सर्वसाधरणले नयाँ बसमार्फत सहज यात्रा गर्न पाउनेछन्।’

माघको अन्तिमसम्म नभए पनि फागुनको सुरुबाटै सबै गाडी सञ्चालन गर्ने उनले बताए।

डिजेल बसमात्रै सञ्चालन गरिरहेको मयुरले काठमाडौं उपत्यकामा विद्युतीय बस सञ्चालनको तयारी समेत गरेको छ। विद्युतीय गाडी उत्पादक कम्पनीसँग थुप्रै चरणमा छलफल समेत भएको कम्पनीले जानकारी दिएको छ।

‘हामीले तत्काल केही विद्युतीय बस ल्याउने योजना बनाउँदै थियौँ। राजनीतिक गतिविधि बढ्दा हामीमा अन्योल सिर्जना भएको छ’, उनले भने, ‘मयुरले विद्युतीय बस सञ्चालन गरे कम्तीमा पनि ४० वटा बस एकैपटक गुडाउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad