कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले कृषिजन्य वस्तुहरुको आयात निर्यातमा सन्तुलन कायम गर्न भन्सारलाई अनलाइन प्रणालीमा विकास गर्नुपर्ने बताएकी छन्।
कृषि तथा खाद्य पदार्थ आयात गर्दा आवश्यक पर्ने अनुमति, लाइसेन्स र अन्य प्रकृया सम्बन्धमा भन्सार विभाग र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्र एवं पशु सेवा विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच अनलाइन प्रणाली सञ्चालन गर्ने सम्बन्धमा सम्झौता गर्न आइतबार मन्त्रालयमा आयोजना भएको कार्यक्रममा मन्त्री अर्यालले प्रविधिको विकास गरी आयात निर्यातलाई सन्तुलित पार्नुपर्ने बताएकी हुन्।
भन्सार जाँचपास गर्दा हुने असहजतालाई अनलाइन प्रणालीले सहजता सिर्जना गर्ने र आयात निर्यातलाई सन्तुलन कायम गर्न मद्दत पुर्याउने मन्त्री अर्यालले बताइन्। प्रविधिको विकास र कार्यान्वयनका लागि प्रविधिमा रुची भएका दक्ष कर्मचारीहरुलाई सम्बन्धित निकायमा राख्ने व्यवस्था गर्न आवश्यक रहेको पनि बताइन्।
मन्त्रालयका निकायहरु र भन्सार विभागबीच भएको सम्झौताले आयात निर्यात प्रक्रिया अनलाइन प्रविधिको कार्यान्वयनको चरणमा प्रवेश भएको मन्त्री आर्यालले बताइन्। यो प्रणाली लागू भएपछि बाह्य मुलुकबाट कुनैपनि वस्तुको आयात गर्दा सम्बन्धित विभागबाट भौतिक रुपमा उपस्थित भई अनुमति लिनुपर्ने अवस्थाको अन्त्य भएको पनि मन्त्री अर्यालले बताइन्।
यसबाट निकासी पैठारीमा समय र लागत कम पर्ने, पैठारीकर्ता भौतिक रुपमा उपस्थित हुनु नपर्ने, सिफारिस पत्रसाथ भन्सार विन्दुमा पुग्नुपर्ने झन्झटको अन्त्य हुने, निर्णय प्रक्रिया द्रुत हुने, काम कारबाही पारदर्शी हुने र शुल्क समेत न्यून हुने भएकाले आयात निर्यातमा सहजिकरण हुने विश्वास गरिएको छ।

प्रतिक्रिया