ad ad

कारोबार


मध्यमोदी आयोजनाको ७५ प्रतिशत निर्माण सम्पन्न

मध्यमोदी आयोजनाको ७५ प्रतिशत निर्माण सम्पन्न

नेपालखबर
माघ ८, २०७७ बिहिबार ६:५५,

पर्वतको मोदी गाउँपालिकामा चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव एक मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ।

विसं २०७१ देखि निर्माण शुरु भएको आयोजनाको झण्डै सात वर्षको अवधिमा ७५ प्रतिशत निर्माण सम्पन्न भएको हो।

आयोजनाको अधिकांश भागको निर्माण अन्तिम चरणमा रहेको छ भने अहिले पावरहाउस निर्माणले तीव्रता पाएको छ।

निर्माण शुरु भएपछि विसं २०७२ को भूकम्प, नाकाबन्दी र समय–समयमा स्थानीयवासीको आन्दोलनका कारण समस्या झेल्दै आएको आयोजनाले पछिल्लो समय कोभिड–१९ का कारण केही समय रोकिनुपरे पनि अहिले रफ्तारमै काम भइरहेको जनाएको छ।

अहिले १८० भन्दा बढी मजदुरले नियमितरूपमा पावरहाउस र सुरुङमार्गको काम गरिरहेका छन्। समग्रमा हालसम्म ७५ प्रतिशत निर्माणको काम सम्पन्न भएको आयोजनाका वरिष्ठ जनसम्पर्क अधिकृत अशोक आचार्यले जानकारी दिए।

आचार्यका अनुसार हेर्डबक्सको काम पूर्णरूपमा सम्पन्न भएको छ भने सुरुङमार्गको काम अन्तिम चरणमा छ। गत वर्ष नै सुरुङ खोल्ने काम सकिएकामा अहिले कंक्रिटिङ र फिनिसिङको काम भइरहेको छ।

लामो समयसम्म प्रभावित पावरहाउस निर्माण अहिले तीव्रगतिमा भइरहेको छ। पावरहाउससँगै टेलरेस निर्माण गरिने छ। अन्य क्षेत्रको भन्दा बढी काम पावरहाउसको बाँकी छ। पावरहाउसको निर्माण जेठभित्रै सम्पन्न गरेर असारसम्म आयोजना नै सम्पन्न गर्ने लक्ष्य छ।

आयोजनाको दुई हजार ६९४ मिटर सुरुङ खोल्ने काम गत वर्ष सकिएको थियो। आयोजना शुरु भएको झण्डै पाँच वर्षमा सुरुङ खोल्ने काम सकिएको थियो। आयोजनाले आगामी २०७८ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। यद्यपि केही समय लम्बिन सक्ने अवस्था रहेको जनाइएको छ।

मोदीखोलाको आडैमा निर्माण हुने उत्पादन गृह वर्षायाममा पानी जमेर काम गर्न नसक्ने अवस्था भएकाले ढिलाइ भएको हो। मोदी गाउँपालिका–१ मा पर्ने भुकताङले र २ मा पर्ने देउपुरमा निर्माणाधीन यो आयोजनाको सम्झौता अवधि सकिन छ महिना छ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाअन्तर्गत वीरेठाँटी र पर्वतको मोदी–१ भुकतांलेको सिमानामा पर्ने सीमखेतमा बाँध निर्माण गरी पर्वतको मोदी–२ देउपुरको बेतेनीसम्म दुई हजार ६९४ मिटरको सुरुङमार्फत ल्याएको पानी ७७ मिटर लामो टेलेरेसमार्फत मोदीखोलामा मिसाउने योजना छ। झण्डै रु दुई अर्ब ८० करोडको लागत अनुमान गरिएको आयोजनाको केही लागत बढ्न सक्ने बताइएको छ।

विसं २०७१ देखि शुरु भएको आयोजना २०७७ असारसम्म सम्झौता अवधि कायम थियो । गत वर्ष एक वर्ष समयावधि थपिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .