शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले जबर्जस्ती निकालेका कर्मचारीलाई पुनर्बहाली नगरे ठूलो आन्दोलन गर्ने मजदुर युनियनले चेतावनी दिएका छन्।
टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले विना कारण मजदुरलाई निकालेपछि कर्मचारी र मजदुर युनियन मिलेर आन्दोलन सुरु गरेका हुन्।
कर्मचारीले सोमबार टीभीएसको शोरुमअघि शान्तिपूर्ण धर्ना दिँदा कम्पनीले प्रहरी बोलाएर धरपकड गराएको थियो। आफ्ना कर्मचारीलाई पुनर्बहाली गर्न छाडेर धरपकड गराएको भन्दै मजदुर युनियन आन्दोलनमा उत्रिएको हो।
सोमबार प्रहरीले नक्सालबाट टीभीएसमा काम गर्ने १५ जनालाई हिरासतमा लिई साँझ छाडेको थियो।
अखिल नेपाल अटोमोबाइल मजदुर संघका अध्यक्ष पुरञ्जन गिरीले जगदम्बाको आधिकारिक सर्भिस सेन्टरमा काम गर्ने २० जना कर्मचारीलाई निकाल्दा आफूहरु आन्दोलनमा उत्रिनुपरेको बताए।
‘१० वर्षदेखि काम गर्दै आएका मजदुरलाई निकाला गरिएको छ’, अध्यक्ष गिरीले भने, ‘२० जना कर्मचारीलाई विना कारण हटाएको हुँदा हामी बाध्य भएर आन्दोलन गरिरहेका छौँ।’
उनले यहाँका कर्मचारीलाई सानो भ¥याङमा खोल्न सर्भिस सेन्टरमा काममा लगाउनुपर्छ भनेर आन्दोलनमा गरेको बताए।
‘कर्मचारीलाई पुनर्बहाली नगरे टीभीएस नै नरहन सक्छ’, गिरीले भने, ‘जबसम्म पुनर्बहाली हुँदैन तबसम्म हाम्रो आन्दोलन पूरा हुनेछैन।’
जगदम्बाले कर्मचारीलाई पुनर्बहाली नगरी आन्दोलनलाई हस्तक्षेप गरे देशभरका मजदुर टीभीएसको विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
जगदम्बाले नक्सालमा भएको सर्भिस सेन्टर सानो भर्याङमा सार्दा मजदुरसँग कर्मचारीलाई पुनर्बहाली गर्ने सहमति भएको थियो। टीभीएसले नक्सालको सर्भिस सेन्टरलाई सानो भर्याङ सार्ने तयारी गरिरहँदा कर्मचारीलाई जबर्जस्ती निकाला गरिएको भन्दै मजदुरले आक्रोश पोखेका हुन्।
कम्पनीले आफ्नै लगानीमा करिब २० वटा सर्भिस सेन्टर चलाएको भन्दै सानो भर्याङ नभए पनि अरु सर्भिस सेन्टरमा काममा लगाउनुपर्ने कर्मचारीको माग छ।
मजदुरकै पसिनाबाट जगदम्बा मोटर्सका सञ्चालक अर्बपति बन्ने तर कर्मचारीलाई सञ्चय कोषको समेत व्यवस्था नगरेको मजदुरले बताएका छन्।
मजदुर युनियन नाट्टुका पूर्वअध्यक्ष माधव पाण्डेले लकडाउनको समयमा समेत राम्रो व्यापार गरेको कम्पनीले कर्मचारी निकाल्नु मानवताविरोधी काम भएको बताए।
कर्मचारी पुनर्बहाली नगरे देशभर टीभीएस कार्यालयमा आन्दोलन सुरु हुने उनले बताए।
याे पनि -
जगदम्बा मोटर्सद्वारा प्रहरी बोलाएर कम्पनीमा पुनर्बहाली माग गर्ने कर्मचारीमाथि धरपकड
Shares

प्रतिक्रिया