नेपाली आरोहीहरुको टोलीले शनिबार पाकिस्तानस्थित केटू हिमाल चढेर नयाँ इतिहास रचेका छन्।
हिउँदको मौसममा अहिलेसम्म कसैले चढ्न नसकेको केटू हिमाल चढेर सो टोलीले हिमाल आरोहणका क्षेत्रमा नयाँ रेकर्ड कायम गरेको हो।
८ हजार मिटरभन्दा बढि उचाइ भएका संसारका १४ हिमालमध्ये अरु सबै १३ हिमाल हिउँदमा चढिएको भए पनि यो हिमाल भने हिउँदमा कसैले पनि आरोहण गर्न सकेको थिएन।
शनिबार उनीहरु सो हिमालको चुचुरोमा पुगेलगत्तै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले नेपाली आरोहीले केटू हिमालमा नयाँ इतिहास कायम गरेको भनी समाचार प्रेषित गरेका छन्।
‘नेपाली आरोहीको एउटा टोलीले शनिबार पाकिस्तानको केटू हिमाल चढेर हिउँदमा यो हिमाल आरोहण गर्ने पहिलो टोलीको रुपमा इतिहास रचेको छ,’ अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले लेखेको छ।
उनीहरु चुचुरोमा पुगेलगत्तै सो आरोहणको व्यवस्थापन गर्ने सेभेन समिट ट्रेकले आफ्नो ट्विटर ह्यान्डलमार्फत् खुशी बाँडेको छ।
‘वी डिड इट (हामीले गरिछाड्यौं)’ उसले ट्विटमा भनेको छ, ‘काराकोरमको सेभेज (डरलाग्दो) माउन्टेनलाई सबैभन्दा जोखिमपूर्ण मौसम हिउँदमै आरोहण गरिएको छ।’
मिङमा जीकाे फेसबुकबाट।
सेभेन समिटका अनुसार नेपाली टोली स्थानीय समय ५ बजे अपरान्ह माउन्ट केटूको शिखरमा पुगेको हो।
सेभेन समिटका अनुसार नेपाली आरोहीहरु निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङमा डेभिड शेर्पा, मिङमा जी, सोना शेर्पा, मिङमा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पाले यो कठिन मौसमका बेला सो हिमाल आरोहण गरेका हुन्।
सुरुमा आआफ्नै किसिमबाट छरिएर आरोहण गरेका १० जनाले नेपालको नाममा संयुक्त इतिहास रच्ने योजनाका साथ अन्तिम चरणमा एउटै समूह बनाएर शिखर आरोहण गरेको बताइएको छ।
Shares

प्रतिक्रिया