सञ्चालनमा आएको डेढ वर्ष पनि नबित्दै नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल चोरी हुने गरेको पाइएको छ।
भारतीय मिडियाहरुका अनुसार पटना–सिवान–मोतीहारी हुँदै नेपाल आउने पाइपलाइन फुटाएर डिजेल चोरी भएको खुलेको हो।
नवभारत टाइम्सका अनुसार सिवानस्थित डुमरा गाउँमा यस्तो चोरी भएको इन्डियन आयल कर्पोरेसन (आईओसीएल)ले फेला पारेको हो।
सिवान भारतको बिहार राज्यमा पर्छ। पाइपलाइनबाट डिजेल चोरिएको यो पहिलो घटना हो। यसविरुद्ध स्थानीय प्रहरीमा उजुरी दिइसकेको समाचारमा उल्लेख छ।
अन्तर्देशीय पाइपलाइन फोरेर डिजेल चोरी भएको बताइएको छ।
पाइपलाइनबाट चाेरी भएकाे ठाउँ। तस्बिरः नवभारत टाइम्स
यसरी खुल्यो पोल
पाइपलाइनबाटै डिजेल चोरी भएपछि भारतीय अधिकारी नै अचम्ममा परेका छन्। पाइपलाइनमाथि खेतमा डिजेल चुहावट भेटिएपछि प्रहरीले आईओसीलाई सूचना दिएको थियो। यसपछि परीक्षण गर्दा चोरी भएको खुलेको हो।
आईओसीले खेत खनेर हेर्दा तस्करहरुले मुख्य पाइपमा प्वाल पारेर अर्को पाइप जोडेको भेट्टाएका थिए। यसरी प्रतिदिन हजारौँ लिटर डिजेल चोरी भइरहेको खुलेको छ। जमिनभन्दा चार फिटमुनिबाट पाइपलाइन जडान गरिएको थियो। चोरीका लागि जोडिएको अर्को पाइप पनि जमिनमुनि नै लुकाइएको थियो।
यसरी डिजेल चोर्दा चुहावट हुन नदिने गरी व्यवस्था मिलाइएको पाइएको छ। छोटो पाइपमा धेरै लक गरी चोरेको थाहा नपाउने व्यवस्था गरिएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्ली र काठमाडौंबाट रिमोट माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेका थिए। हाल पाइपलाइन हुँदै भारतबाट नेपालले डिजेल आयात गरिरहेको छ। पाइपलाइनले ट्यांकरबाट डिजेल ल्याउनुपर्ने बाध्यता हटे पनि चोरीले अर्को समस्या निम्त्याएको छ।

प्रतिक्रिया