चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं वार्षिक साधारण सभा बुधबार चन्द्रागिरि हिल्स रिर्सोटमा सम्पन्न भएको छ।
कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारण सभामा कम्पनीको वित्तिय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो।
साधारण सभाको अवसरमा, चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ।
चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वास अनि सबैलाई सेयर पर्ने सम्भावना न्युन रहेको हुँदा सम्पूर्ण आवेदकहरुको सम्मान गर्दै कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो योजना सार्वजनिक गरिएको जानकारी दिए।
स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको सेयरमा आवेदन दिने १२ लाख ५६ हजार सात सय ४६ आवेदकले सेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ।
साथै यो योजना मिति २०७७ माघ ५ देखि १ वर्ष सम्मको लागि मान्य हुनेछ।
ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।

प्रतिक्रिया