ग्लोबल आइएमई बैंक लिमिटेडको १४औँ वार्षिक साधारणसभा बुधबार बैंकको कर्पोरेट भवन कमलादी, काठमाडौंमा सम्पन्न भएको छ।
आर्थिक वर्ष २०७६/०७७ को कुल मुनाफाबाट आफ्ना सेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गर्दै बैंकको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो।
बैंकले गत आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ र कर पछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो। बोनश सेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ।
साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताए।
उनले बैंकले संघीय सरकार तथा नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरु यस बैंकमा समाहित गरिएको बताए। साबिकको जनता बैंक नेपालसँग मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबै भन्दा ठूलो र सबल बैंक बनेको बताउँदै, उहाँले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले बैंकले सदाझैँ आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताउँदै कोरोना भाइरस महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधि मार्फत सेवा प्रवाह गर्दै ग्राहकहरुलाई थप प्रभावकारी सेवा पु¥याउने बताए।
आर्थिक वर्ष २०७६/७७ मा बैंकको व्याज आम्दानी तर्फ गत वर्षभन्दा ६ अर्ब ९६ करोड रुपैयाँले वृद्धि भएको छ। आम्दानीमा वृद्धि भए पनि यसै अवधिमा कोरोना भाईरसको कारणले बैंकको कर्जा लगानी रकममा १ अर्ब ९५ करोड रुपैयाँसम्मको जोखिम व्यवस्थापन वापत रकम छुट्याउनु परेकोले बैंकको खुद मुनाफामा ५.३१ प्रतिशतले मात्र वृद्धि भई २ अर्व ९१ करोड रुपैयाँ मात्र कायम हुन सकेको छ। हाल बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ।
त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यकासाथ बैंकले ७३ जिल्लामा २६४ शाखा सञ्जाल सहित करिब ८०० सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। बैंकमा ३ हजार भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन्। बैंकले करिब २२ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ।
सञ्चालक समितिको अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित
साथै आजै सम्पन्न १४औँ वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ।
अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) रहेका छन्।
नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराएका छन्।
प्रत्यक्ष र भर्चुअल माध्यमबाट गरी सञ्चालन गरिएको बैंकको १४औैैैँ साधारणसभामा बैंकका सेयर सदस्यहरु, कर्मचारी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया