अमेरिकी सेयरबजार निसे (एनवाईएसई) तीन चिनियाँ दूरसञ्चार कम्पनीलाई सूचीकरणबाट हटाउने आफ्नो निर्णयबाट पछि हटेको छ।
बीबीसीका अनुसार गत डिसेम्बर ३१ मा चिनियाँ सेनाको स्वामित्व वा नियन्त्रणमा रहेको आरोपमा चिनियाँ कम्पनीलाई न्युयोर्क स्टक एक्सचेन्ज (निसे)ले सूचीकरणबाट हटाउने प्रक्रिया थालेको बताएको थियो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा एउटा कार्यकारी आदेश जारी गर्दै ३१ कम्पनीलाई चिनियाँ सेनाको स्वामित्व वा नियन्त्रणमा रहेको भन्दै अमेरिकामा लगानी गर्न नदिने बताएका थिए। सोही आदेशअनुसार निसेले चिनियाँ कम्पनीहरु चाइना मोबाइल लिमिटेड, चाइना टेलिकम कर्प लिमिटेड र चाइना युनिकर्न हङकङ लिमिटेडलाई सूचीकरणबाट हटाउने निर्णय गरेको थियो।
तर अहिले फेरि नियामकीय अधिकारीसँग यसबारे थप परामर्श गर्ने भन्दै थालेको प्रक्रिया रोकेको छ। निसेले यही हप्ता चिनियाँ कम्पनीलाई हटाउने बताएको थियो। हटाउने बताएसँगै तीनवटै कम्पनीको सेयर सोमबार ५ प्रतिशतभन्दा बढीले हङकङ सेयरबजारमा घटेको थियो। तर पछिल्लो खबरसँगै उनीहरुको सेयर फेरि आकाशिएको छ।
न्युयोर्क र हङकङको सेयरबजारमा कम्पनीहरुको सेयर बढेको छ। चाइना युनिकर्नको ८.५ प्रतिशतले, चाइना टेलिकमको ८ प्रतिशतले र चाइना मोबाइलको ७ प्रतिशतले सेयर बढेको बीबीसीले जनाएको छ।
तीनवटै कम्पनीहरुले चीनमै अधिकांश आम्दानी गर्ने गरेका छन् र अमेरिकामा उनीहरुको उपस्थिति उल्लेख्य छैन। अरुजस्तै यी कम्पनी पनि अमेरिका र हङकङका दुवै सेयरबजारमा सूचीकृत छन्। अमेरिकी सेयरबजारहरुमा २ सयभन्दा धेरै चिनियाँ कम्पनीहरु सूचीकृत छन्।
यी सबैको कुल बजार पुँजीकरण २२ खर्ब अमेरिकी अमेरिकी डलरबराबरको छ।
सत्ता छोड्ने बेला नजिकिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध कडा नीति अख्तियार गरिरहेका छन्। पछिल्लो तनावलाई यसैको उदाहरणका रुपमा लिइएको छ।

प्रतिक्रिया