जनकपुर–जयनगर सञ्चालनको लागि भारतीय कम्पनीसँग किनेर ल्याइएको नेपाली ध्वजावाहक रेल ४ महिनादेखि थन्किएर बसेको छ।
असोज १ गते नेपाल आइपुगेका दुईवटा रेल दक्ष जनशक्ति तथा स्पष्ट कानुनको अभावमा सञ्चालन हुन नसकेको हो। कानुन अभावमा यी रेल चल्ने टुंगो पनि लागेको छैन।
असोजमा रेल ल्याउँदा सरकारले दसैँ तिहारमा सञ्चालन गर्ने बताएको थियो। तर कोभिड १९ को कारण देखाउँदै पुस ५ गते विवाह पञ्चमीमा सञ्चालन गर्ने भनियो।
अहिले फेरि रेलवे कम्पनीले माघभित्रै रेल सञ्चालन गर्ने दाबी गरेको छ।
कानुन पनि बनेन
रेल सञ्चालनको लागि आवश्यक पर्ने रेलवे विधेयक संसदमै थन्किएर बसेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङले २०७६ पुस १८ गते राष्ट्रिय सभामा पेश गरेको रेलवे विधेयक छलफलकै क्रममा छ।
मन्त्री नेम्वाङले समितिको छलफलमा वि.सं. २०२० को रेलवे ऐनले अहिलेको अवस्थामा काम गर्न नसक्ने र वि.सं. २०५९ को अध्यादेशले खारेज गरिसकेको भन्दै तत्काल रेलवे ऐन आवश्यक भएको बताएका थिए।
विधेयकमा रेल यात्रुको व्यवस्थापन कसरी गर्ने, सञ्चालनमा अवरोध गर्नेलाई कारबाही के हुने, कसरी गर्ने, रेल अपराध नियन्त्रण कसरी गर्नेलगायत महत्वपूर्ण विषय रहेको छ।
रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले संसद् नचलेको अवस्थामा मन्त्रिपरिषदबाटै निर्णय गराएर भए पनि रेल सञ्चालन हुने बताए।
‘संसद् चलेको भए त्योअनुसार काम गर्न सकिन्थ्यो’, भट्टराईले भने, ‘अत्यावश्यक भएका कानुन मन्त्रिपरिषदबाट पास गराएरै अहिले रेल चलाउँछौँ।’
रेलवे विधेयकले बोर्डको स्थापना गरी रेलवेसम्बन्धी नीति, नियमित कार्यक्रम तथा बजेट बनाउनसक्ने व्यवस्था गरेको छ। रेलवेको नियमन तथा मूल्यांकन बोर्डले नै गर्ने विधेयकमा उल्लेख छ। बोर्डको स्थापना नहुँदा स–साना निर्णय पनि मन्त्रिपरिषदमै लैजानुपर्ने बाध्यता छ।
भट्टराईले माघमै रेल सञ्चालनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ४० जना कर्मचारी माग गरिएको जानकारी दिए।
‘अहिले हामीलाई आवश्यक पर्ने कर्मचारीमध्ये निजामतीबाट ४० जना कर्मचारी लैजाँदै छौँ। अरु बाँकी कर्मचारी रेलवेमा काम गरेर अवकाश पाएका ५०–६० जना ल्याउँछौँ’, भट्टराईले नेपालखबरसँग भने, ‘रेल सञ्चालनका लागि २६ जना दक्ष जनशक्ति भारतबाटै ल्याउँदै छौँ।’
रेल सञ्चालनका लागि प्राविधिक, प्रशासन, कानुनलगायत समूहबाट झण्डै डेढ सय कर्मचारी आवश्यक रहेको भट्टराईले बताए।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा दुई सेट डेमो ट्रेन आएको थियो। नेपाल सरकारले भारतसँग ८४ करोडमा उक्त रेल खरिद गरेको थियो। रेलमा १२ सयदेखि १३ सयसम्म यात्रु क्षमता रहेको कम्पनीले जनाएको छ।
पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ।
दोस्रो चरणमा जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम भइरहेको छ। त्यस्तै अन्तिम चरणमा तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर गरी कुल ६९ किलोमिटरमा उक्त डेमो रेल सञ्चालन हुनेछ।
नेपालमा राणाकालमा वि.सं. १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा वि.सं. १९९४ तिर जयनगरदेखि जनकपुरसम्म आएको थियो।

प्रतिक्रिया