ad ad

कारोबार


सौराहामा होटल र रेष्टुराँका लागि नयाँ मापदण्ड, साढे दुई तलको भवन, प्रकृति सुहाउँदो रङ

सौराहामा होटल र रेष्टुराँका लागि नयाँ मापदण्ड, साढे दुई तलको भवन, प्रकृति सुहाउँदो रङ

नेपालखबर
साउन १७, २०७६ शुक्रबार ७:१२,

पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुरेन्ट र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको छ। अग्ला भवनहरु निर्माण गर्न पाइने छैन भने एउटै किसिमको प्रकृति सुहाउँदो रङ लगाउनुपर्ने हुन्छ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले नयाँ नीति निर्माणका लागि निजी क्षेत्रसँग छलफल शुरु गरिएको बताए। उनका अनुसार साढे दुई तलाभन्दा अग्लो भवन बनाउन रोकिने, प्रकृतिसँग मिल्ने एकै खालका रङ लगाउनुपर्ने, भवनहरुमा नेपाली शैली झल्कनुपर्ने, होटल रिसोर्टका लागि जमिनको न्यूनतम क्षेत्रफल तोकिनेछ। सौराहामा मात्र ११० होटल र ८० रेष्टुराँ छन्। सो क्षेत्रमा मानव बस्तीसमेत छ।

नीति बनाउनुअघि होटल र रेष्टुराँ व्यवसायीसँग नगरपालिकाले छलफल थालेको हो। बृहतरूपमा छलफल गरेर यसलाई अन्तिम रूप दिने वनको धारणा छ। नगरपालिका आफैँले मात्र नीति बनाउँदा कार्यान्वयनमा कठिनाइ हुने हुँदा निजी क्षेत्रको सहमतिमा नै काम गर्न लागिएको वनको भनाइ छ। सो क्षेत्रमा अग्ला भवन बनाउन अध्ययन गर्न आएकाहरुलाई आफूले अग्ला भवन बनाउन नपाउने मौखिक जानकारी दिन शुरु गरेको वनले बताए।

क्षेत्रीय होटल संघ सौराहाका महासचिव राममणि खनाल स्थानीय सरकारले नीति बनाएर काम अघि बढाउनुपर्ने बताए। प्रकृति सुहाउँदो रङ, वातावरणमा प्रभाव नहुने संरचना निर्माण गर्न सकेमा सौराहाको सुन्दरता अरु थपिने खनालको भनाइ छ।

नगरपालिकाले बनाउने मापदण्डमा व्यवसायी सहमत हुने भन्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले चिनेको सौराहालाई जीवन्त राख्न यो महत्वपूर्ण काम हुने बताए। रेष्टुरेन्ट एन्ड बार एशोसिएसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले आफूहरुले चार वर्षअघि नै यससम्बन्धी प्रस्ताव गरेको भन्दै नगरपालिकाले यथाशीघ्र नीति बनाएर अघि बढ्नुपर्ने बताए।

सौराहामा पछिल्लो समय कंक्रिटका ठूला भवन बन्न थालेका छन्। यस्ता कङ्क्रिटका भवनले सो क्षेत्रको प्राकृतिक सौन्दर्यता लोप हुने चिन्ता व्यवसायीमा रहेको छ। क्षेत्रीय होटल संघले सौराहाको वृहत गुरु योजनासमेत निर्माण गरिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .