ad ad

कारोबार


नागढुंगा–नौबीसे सुरुङमार्ग : इस्केप टनेल खन्न थालियो, मुख्य टनेल केही समयपछि मात्र

नागढुंगा–नौबीसे सुरुङमार्ग : इस्केप टनेल खन्न थालियो, मुख्य टनेल केही समयपछि मात्र

नेपालखबर
पुस ८, २०७७ बुधबार १०:३७,

शिलान्यास भएको १४ महिनापछि नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणको काम सुरु भएको छ। आयोजनाले मंगलबारबाट सुरुङ खन्ने कार्य सुरु गरेको हो।

जापान सरकारको आर्थिक र प्राविधिक सहयोगमा करिब ३ किलोमिटर पहुँचमार्ग र २.७ किलोमिटर सुरुङमार्ग निर्माण हुने भएको छ।

आयोजनाले आवश्यक प्रविधि ल्याई जापानी र नेपाली जनशक्तिले सुरुङ मेसिनले खन्न सुरु गरेका छन्।

सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले समानान्तर दुईवटा टनेल हुने बताए। उनका अनुसार मुख्य टनेल दुई लेनभन्दा ठूलो तर ३ लेनभन्दा सानो हुनेछ।

अत्यावश्यक समयमा ३ वटा गाडी समेत पास हुन सक्ने गरी निर्माण हुनेछ।

अर्को समानान्तर रुपमा बन्ने साघुँरो सुरुङमार्ग अत्यावश्यक समयमा प्रयोग गर्न सकिने उनको भनाइ छ। कुनै दुर्घटनावश मुख्य सुरुङ बन्द भएसँगै रहेको सुरुङमार्ग अत्यावश्यकको लागि प्रयोग गर्न सकिन्छ।

मंगलबार सुरुङको पश्चिम भाग काठमाडौं–धादिङ सीमा सिस्नेखोलामा इस्केप टनेल अर्थात् अत्यावश्यक अवस्थामा मुख्य टनेलको विकल्पमा प्रयोग गरिने टनेलको काम थालिएको हो। मुख्य सुरुङ खन्ने काम भने केही समयपछि सुरु हुनेछ। इस्केप टनेल १ सय २० मिटर खनेपछि मुख्य सुरुङ पुगिन्छ र त्यहाँबाट दायाँबायाँतर्फ खन्ने आयोजनाले जानकारी दिएको छ।

दशैँलगत्तै मुख्य सुरुङको काम थाल्ने योजना बनाइएको थियो तर आयोजनामा मुआब्जा विवाद, स्थानीयको अवरोध, इक्विपमेन्ट, विस्फोटक पदार्थ ल्याउन स्वीकृतिमा ढिलाइ आदिले काम अघि बढ्न ढिला भइरहेको थियो। आयोजनाले चट्टान फुटाउनको लागि ९ सय टन विस्फोटक पदार्थ आवश्यक पर्ने अनुमान गरेको छ।

सुरुङमार्ग करिब २२ अर्ब रुपैयाँको लागतमा निर्माण हुनलागेको हो। जसमा जापानको १६ अर्ब रुपैयाँ सहुलियत ऋण र ६ अर्ब नेपाल सरकारले व्यहोर्नेछ।

निर्माण ठेक्का जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेसनले पाएको छ।

२७० जना कामदारहरुले अहिले दुवैतिरको पोर्टलमा काम गरिरहेका छन्। बक्स कल्भर्ट, मोटरेबल पुल, लिंक रोड निर्माणलगायतको कामहरु भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .