कारोबार


उद्योगीलाई पक्राउ गरेर उखु किसानको बक्यौता असुलउपर गर्ने सरकारको निर्णय

उद्योगीलाई पक्राउ गरेर उखु किसानको बक्यौता असुलउपर गर्ने सरकारको निर्णय

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार १०:३२,

सरकारले उखु किसानका बक्यौता भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरेर असुलउपर गर्ने निर्णय गरेको छ।

गृहमन्त्री, उद्योगमन्त्री, कृषिमन्त्री र संघीय मामिलामन्त्रीको आज गृह मन्त्रालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

उद्योगीले लामो समयदेखि किसानका भुक्तानी नदिएको, किसान र सरकारसँग गत वर्ष भएको सम्झौता पालना नगरेको, सरकारबाट पाउने सहुलियत लिने तर किसानलाई मूल्य पनि नदिने गरेको, नेपालको चिनी थन्क्याएर आयात गर्ने अनि त्यही चिनी बाहिर पठाएर फेरि सुविधा लिएको, चिनी बिक्री गरेर पनि भुक्तानी रोकेको लगायत विषयमा बैठकमा छलफल भएको थियो।

‘अहिलेसम्मको उद्योगीको व्यवहार हेर्दा किसानलाई यो वा त्यो बाहानामा ठगी गरेको देखियो’, बैठकमा सहभागी एक मन्त्रीले भने, ‘त्यसैले उद्योगीलाई पक्राउ गरी ठगीको अपराधमा कारबाही गर्ने र किसानका सबै बक्यौता असुल गरिने निर्णय भएको छ।’

यसअघि सरकारसँग वार्तामा बस्न उखु किसानहरुले अस्वीकार गरेका थिए।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज किसानहरुलाई छलफलका लागि वार्तामा बोलाएको थियो। तर उनीहरु आउन नमानेको मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले सोमबार चिनी उद्योगीहरुसँग छलफल गरेको थियो। सो क्रममा उद्योगीहरुले किसानको बक्यौता तिर्ने प्रतिबद्धता जनाएका थिए।

मन्त्रालयले उद्योगीहरुसँगको छलफलमा किसानलाई तिर्नुपर्ने रकम सार्वजनिक गर्न निर्देशन दिएको थियो।

उद्योगीले किसानको उखु किनेर पनि लामो समयसम्म पैसा नदिएपछि पोहोरदेखि नै किसानहरु काठमाडौं नै आएर आन्दोलन गर्दै आएका छन्। गत वर्ष पुसमा सरकारले बक्यौता उठाइदिने भनी सम्झौता गरेपछि किसानहरु फर्किएका थिए तर उद्योगमन्त्री भट्टले पुनः उनीहरुको मागमा उदासीनता देखाएपछि फेरि आन्दोलन गरिरहेका छन्।

गत २८ गतेदेखि नै उखु किसानले माइतीघरमा आन्दोलन गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad