राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरले काठमाडौं भ्यु टावर निर्माण गरिरहेको कम्पनी जलेश्वर स्वच्छन्द विकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज कुमार भेटवालसहित चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
विभागले भेटवाल, निशा गुरुङ, राजकुमार विष्ट र शिव विष्ट गरी चार जनाविरुद्ध हुन्डी गरी विदेशी मुद्रा अपचलन गरेको अभियोग लगाउँदै जिल्ला अदालतमा बुधबार मुद्दा दायर गरेको हो। गुरुङले आफ्नो सिंगापुरमा रहेका आफन्त, साथीभाइ र अन्य व्यक्तिसँग भेटवालको कम्पनीले निर्माण गरिरहेको काठमाडौं भ्यु टावर निर्माणमा लगानी गर्ने भनी रकम संकलन गरेर बैंकिङ प्रक्रियाभन्दा बाहिर गई हुन्डीमार्फत रकम मगाएको विभागले जनाएको छ। उक्त कारोबारमा राजकुमार विष्ट, उनका भाइ शिव विष्टको समेत संलग्नता रहेको विभागले जनाएको छ।
विभागका अनुसार सिंगापुरमा विभिन्न व्यक्तिहरुसँग सापटी रकम लिएर गैरकानुनी बाटोबाट नेपाल भित्र्याई गुरुङले विष्टद्वयको सहयोग र संलग्नतामा भेटवालमार्फत भ्युटावरमा लगानी गरेको पाइएको हो।
उनीहरुविरुद्ध हुन्डीमार्फत गैरकानुनी क्रियाकलाप गरेको भन्दै विभागले ४ करोड ६० लाख ४२ हजार ८ सय ५० रुपैयाँ बिगो कायम गरी चारै जनालाई विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १७ (१) बमोजिम बिगोको तीन गुणा सजाय तथा सोही ऐनको दफा १७ (९) बमोजिम ३ वर्ष कैद सजाय माग गरिएको छ भने बरामद रकम समेत जफत हुने मागदाबी गरिएको छ।
उनीहरुले एकपटक २६ लाख १५ हजार, अर्कोपटक ३४ लाख र अर्कोपटक ४ करोड २७ हजार ८ सय ५० रुपैयाँ हुन्डीमार्फत नेपाल ल्याएका थिए।
प्रतिक्रिया